Logo

संसदीय दलको नेता बन्न रास्वपामा ५ जनाको ‘लबिइङ’, सुमनाको सशक्त दाबीले बढ्यो विराजभक्तको ‘सम्भावना’



काठमाडौं । पार्टी सभापति रवि लामिछाने सहकारी ठगीमा पक्राउ परेपछि कार्यवाहकको भरमा चलिरहेको प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दैछ । दिउँसो ३ बजे पार्टी मुख्यालय वनस्थलीमा बैठक बस्न लागेको हो ।

आजको बैठकले कार्यवाहक संसदीय दलको नेता तोक्ने तयारी छ । संसदीय दलका नेता रहेका रवि लामिछाने थुनामा रहेदेखि रास्वपा दलको नेताविहीन छ । रवि सांसदबाट समेत निलम्बनमा परेपछि गत साता रास्वपाले उपसभापति डोलप्रसाद अर्याललाई कार्यवाहक सभापति तोकेको थियो । कार्यवाहक सभापति तोकेको रास्वपाले दलको नेता भने तोकेको छैन् ।

सहकारी ठगीमा मुछिनुअघि रास्वपामा लामिछाने सभापति र दलको नेता थिए । भने विराजभक्त श्रेष्ठ संसदीय दलको उपनेता थिए । कार्यवाहक दलको नेताका लागि विराजभक्तसहित उपसभापतिद्धय डीपी अर्याल रस्वर्णिम वाग्ले तथा सांसदद्धय सुमना श्रेष्ठ र चन्दा कार्कीले आकांक्षा राखेका छन् ।

वाग्ले र श्रेष्ठ प्रत्यक्ष निर्वाचित सांसद हुन् भने अरु तीन जना समानुपातिक सांसद हुन् । सहमहामन्त्रीसमेत रहेका पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले पार्टीको म्यासेन्जर ग्रूपमा नै आफू संसदीय दलको नेतामा इच्छुक रहेको सन्देश पठाएकी छन् । उनले आफू टिका लगाएर नभइ भिजनसहित संसदीय दलको नेता बन्ने बताएकी छन् ।‘टीका लगाएर नेता बन्ने होइन, मुद्दा र एजेन्डाका आधारमा हो । म आफ्नो भिजनसहित संसदीय दल नेतामा अप्लाई गर्छु ’उनले ग्रूपमा भनेकी छन् ।

त्यसोत, केही रास्वपाका नेताहरु कार्यवाहक सभापति अर्याललाई नै दलको नेता बनाउनुपर्ने पक्षमा छन् । तर, थुनामा रहेका सभापतिले टिका लगाएर सभापति बनाएको भन्दै दलको नेता पनि उनैलाई बनाउन नहुने पक्षमा छन् । कार्यवाहक सभापतिका लागि तीव्र आकांक्षा राखेका स्वर्णिम वाग्ले पनि दलको नेतामा इच्छुक रहेको स्रोतले जनाएको छ । अर्याल, कार्की र श्रेष्ठ समानुपातिक सांसद भएको हुँदा उनीहरुलाई दलको नेता तोक्न् नहुने पक्षमा रास्वपामा मत बलियो छ ।

आकांक्षा ५ जनाले राखेको भएपनि अन्तिममा स्वर्णिम र विराजभक्त मध्ये एक जना दलको नेता बन्ने स्रोतको दाबी छ । ‘हिरासतबाटै पार्टी हाँकिरहेका रवि लामिछानेले विराजभक्तजीलाई दलको नेता बनाउने वचन दिनुभएको छ । आजको सचिवालय बैठक अनौपचारिक मात्र हो । जहिले तोकिएपनि विराजजी नै दलको नेता बन्नुहुन्छ’ रास्वपा निकट उच्च स्रोतले भन्यो ।



प्रतिक्रिया दिनुहोस्