काठमाडौं, १२ पुस । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र बजगाईँले वर्तमान सरकारप्रति असन्तुष्टि बढेको बताएका छन् । नेता बजगाईँले सरकारका मन्त्रीहरु जनताप्रति उत्तरदायी हुन नसकेको बताएका छन् । उनले बेनीघाट, लार्के र बुढीगण्डकी कहिले बन्छ भनेर सोध्न चाहेपनि प्रधानमन्त्री र मन्त्रीको ढोका बन्द रहेको टिप्पणीसमेत गरेका छन् ।
आफूले कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूको प्रशंसा वा आलोचना गर्ने ठाउँसमेत नपाएको उनको भनाइ छ । प्रधानमन्त्री, मन्त्रीपरिषद् सदस्यलाई भेट्न पनि नपाएको उनले बताए । भ्रष्टाचारमा भित्रै बोल्नुपर्ने, बाहिर बोल्न हुन्न भन्ने चेतावनीमा मन्त्रिपरिषद चलेको उनको आरोप छ ।
‘सरकारप्रति गहिरो असन्तोष रहिआयो, ठीक त्यसैगरी हिजोको सरकारप्रति पनि थियो। देशमा नौलो छापामार युद्ध चलिरहेको छ । पुराना पनि निरंकुश, नयाँ पनि निरंकुश,’– उनले भनेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्ः
बेनीघाट लार्के र बुढ़ीगण्डकी कहिले बन्छ भनेर सोध्न चाहन्थेँ, तर प्रधानमन्त्री मन्त्रीका संसदका ढोका बन्द छन्।
मेरो प्रश्न छ: के सरकारका मन्त्री पार्टीका लागि काम गर्छन् कि जनताप्रति उत्तरदायी छन्?
मैले मेरो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूको प्रशंसा वा आलोचना गर्ने ठाउँ कुन हो?
प्रधानमन्त्री मन्त्रीपरिषद् सदस्य लाई भित्र भेट्न पनि पाइन्न, भ्रष्टाचारमा भित्रै बोल्नुपर्छ, बाहिर बोल्न हुन्न भन्ने चेतावनी चलेको छ। बाहिरका माध्यम पनि बन्द गरिएका छन्।
सरकारप्रति गहिरो असन्तोष रहिआयो, ठीक त्यसैगरी हिजोको सरकारप्रति पनि थियो।
देशमा नौलो छापामार युद्ध चलिरहेको छ, पुराना पनि निरंकुश नयाँ पनि निरंकुश!
बहुदलीय प्रणालीको संयन्त्र The ruling party machinery जनअपेक्षा र भुईंमान्छेको भावना बुझ्न असमर्थ देखिएको छ, जुन निकै निराशाजनक विषय हो।
लोकतान्त्रिक प्रक्रिया भित्र प्रतिशोध र भयको घरटहरा निर्माण भइरहेको छ।
बहुदलीय निरंकुशता झन् भयंकर र निर्मम हुन्छ भन्ने कुरा जनताले बुझ्ने छन्।