काठमाडौं, १३ पुस । नेकपा (एमाले) की केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई पार्टीले ६ महिनाको लागि निष्काशित गरेको छ । पार्टीको हितविपरीतका अभिव्यक्ति दिएको भन्दै उनलाई एमालेले निष्काशन गरेको हो । तिम्सिना र स्थायी कमिटी सदस्य बिन्दा पाण्डेलाई एमालेले पार्टी हितविपरीत बोलेको भन्दै स्पष्टीकरणसमेत सोधेको थियो ।
स्पष्टीकरणमा चित्तबुझ्दो जवाफ नदिएको भन्दै तिम्सिना र पाण्डेलाई एमालेले ६ महिनाको लागि निष्काशन गरेको थियो । तिम्सिनाले आफूहरुले पार्टीले व्यवसायी मिनबहादुर गुरुङसँग जग्गा दान लिएर गलत गरेको कुरालाई नै पुष्टि गर्ने आधार दिँदै स्पष्टीकरण बुझाएको बताईन् ।
प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलाले ‘स्पष्टीकरणमा के लेख्नु भएको थियो ?’ भन्ने प्रश्नमा उनले भनिन्, ‘त्यो स्पष्टीकरणमा हामीले पार्टीको निर्णय पार्टीकै हित विरुद्ध, समाजको र देशकै हितविरुद्ध भयो । किनभने राज्यलाई ठगी गरेको आरोप जो व्यापारीबाट हामीले जग्गा र घर दान लिने भनेका छौं, उ राज्यको दृष्टिमा कसुरदार हो । उहाँको अनेकौ, दर्जनौं मुद्दाहरु विचाराधीन छ । कति ठाउँमा उहाँ कसुरदार ठहरिइसक्नु भएको छ । यो कुरा भ्रष्टाचार निवारण ऐन २०५९, विभिन्न ऐन, नियमहरु बाझिन्छ हामीले जग्गा दान लिएको प्रकणमा । स्वार्थ पनि बाझियो । अनि हाम्रो कम्युनिष्ट पार्टीको संस्कार, संस्कृति, मूल्य, मान्यतासँग पनि यो बाझिन्छ । समाजबाट जस्तो प्रतिकृया आएको छ, राजनीतिक दल अन्ततः जाने जनतामा हो, समाजमा हो नि त । प्रत्येक जनताको एक–एक भोटले हामीलाई मूल्याङ्कन गर्ने हो । त्यसो भएकाले यो भएन कमरेडहरु भनेरै मैले छलफल गरेँ व्यक्तिगत रुपमा पनि । हामीले लेख्न पनि फेसबुकमा जे लेखेका छौं, त्यसलाई अझ पुष्टि हुनेगरी लेखेका छौं ।’