काठमाडौं, १३ पुस । नेकपा (एमाले) निकट नेपाल निजामति कर्मचारी संगठनका कार्यवाहक अध्यक्ष भोलानाथ पोखरेलले पूर्व सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको कारण नेपालको निजामति प्रशासन तहसनहसको अवस्थामा पुगेको टिप्पणी गरेका छन् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नोपली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले उनले तत्कालीन सामान्य प्रशासनमन्त्री पण्डितकै कारण नेपालको निजामति प्रशासन तहसनहस, अनुत्प्रेरित, हिम्मतविनाको र लुलो लङ्गडो बनेको बताएका हुन् ।
तत्कालीन मन्त्री पण्डितले कर्मचारीलाई निकै जालीगलौज गरेको प्रसंग उल्लेख गर्दैै उनले भने, ‘मन्त्रीहरुले आफ्नो कर्मचारीले घुस खाएको देख्नुभएको छ भने उसलाई विभागीय कारबाही गरेको तपाईँले सुन्नुभएको छ ? लालबाबु पण्डितले सब भ्रष्ट्र छन् भन्नुभयो कर्मचारीलाई । यी थाङ्ने र माग्ने हुन् भन्नुभयो । उहाँले एउटा कर्मचारी कारबाही गर्नुभयो त ? बरु कर्मचारी प्रशासनलाई तहसनहस बनाइदिनुभयो नि । समायोजनको नाममा कर्मचारी प्रशासन नै तहसनहस बनाउनुभयो । अनुत्प्रेरित बनाउनुभयो, कर्मचारीलाई हिम्मतविनाको बनाइदिनुभयो । लुलो लङ्गडो बनाइदिनुभयो । यो खालको स्थिति भयो ।’
तत्कालीन मन्त्री पण्डितकै कारण अहिलेसम्म नेपालको निजामति प्रशासन थलिएको र प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले त्यसैको परिणाम व्यहोर्नु परिरहेको उनले बताए । पण्डितकै कारण कर्मचारी प्रशासन कामप्रति उत्तरदायी हुन नसकेको, जागिर जोगाउने भन्दा अर्को कुरा सोच्न नसकेको र मुख्यसचिवले समेत प्रोटेक्सनको अनुभूति दिलाउन नसकेको उनले बताए ।