काठमाडौं, १३ पुस । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) मा उमेर हदको विवाद टुङ्गो लगाउन आज मतदान जारी रहेको छ । अनेरास्ववियू (क्रान्तिकारी) कोे नेतृत्वमा ३२ वर्षे उमेर हद तोक्ने कि नतोक्ने भन्ने विषय छिनोफानो गर्न आज मतदान गराइएको हो ।
अहिले भौगोलिक र गैर भौगोलिक ८६ वटा जिल्ला मतदान केन्द्रमा मतदान चलिरहेको छ । विहान १० बजेबाट सुरु भएको मतदान बेलुका ४ बजेसम्म चल्नेछ ।
अनेरास्ववियू (क्रान्तिकारी) का नेताहरु दीपेश पुन, पवन कार्की, जीपी मैनाली, मदन भुल, नरेश रेग्मी, केशव रावललगायत उमेर हद खुल्ला हुनुपर्ने पक्षमा छन् ।
उमेर हद लागू गर्नुपर्ने र संगठन वास्तविक विद्यार्थीको हातमा बुझाउनुपर्ने पक्षमा अनेरास्ववियू (क्रान्तिकारी) मा ठूलो समूह छ । स्ववियू सभापति, दुई सयभन्दा बढी क्याम्पस इकाइका अध्यक्षहरु, निवर्तमान केन्द्रीय उपाध्यक्ष क्षितिज सापकोटा, प्रतीक कार्की, मदन राई, रोशन थापामगर, हेमन्त राई, अटल आचार्यलगायतका विद्यार्थी नेताहरु उमेर हदको पक्षमा उभिएका छन् । File Photo/RN