काठमाडौं, १३ पुस । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई अराजक प्रवृत्तिको संज्ञा दिएका छन् । नेकपा (एमाले) स्थायी कमिटी सदस्यसमेत रहेका मुख्यमन्त्री कार्कीले दमक नगर कमिटीले आयोजना गरेको बाल प्रतिभाको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै सहकारीमा जम्मा गरेको सर्वसाधारणको करोडौँ अर्बौँ रकम अपचलन गर्ने, आफ्नै बैंक खातामा कहाँबाट पैसा आयो भन्ने थाहा नपाए झै गर्ने, आफैँले काटेको चेक मलाई थाहा छैन भन्ने जस्ता गैरजिम्मेवारी पूर्णजवाफ दिनु अराजक प्रवृत्ति रहेको बताएका हुन् ।
सबै किसिमका अराजकताका विरुद्ध सरकार कठोर भएर अघि बढ्ने उनको भनाइ छ । अराजकता र राजनीतिक अस्थिरतालाई उपयोग गरे नेपाली जनताको विकास र समृद्धिको चाहनामा अवरोध पुर्याउने नयाँ, पुराना जुनसुकै पार्टीका नेता, कार्यकर्तालाई कानुनी कठघरामा ल्याउन सरकार प्रतिबद्ध रहेको मुख्यमन्त्री कार्कीको बताए ।
कुनै बहानामा ठगी र अपराध गर्ने कानुनी दायरा बाहिर हुन नसक्ने भन्दै उनले कुनै दल विशेषको नेता हुँदैमा कानुनी कारबाहीबाट मुक्ति हुनुपर्छ भन्ने तर्क गर्नेले सामाजिक सञ्जालमा अराजकता मच्चाइरहेको उल्लेख गरे । उनले ७० प्रतिशत जनमतसहितका कांग्रेस–एमालेको सत्ता सहकार्यबाट मुलुकअघि बढिरहेको र यसले सरकारको स्थिरता र जनताको विकास र समृद्धिको चाहनालाई बढाइरहेको दाबी गरे । File Photo/RN