Logo

भुसाल र रावललाई विष्णु रिमालको चुनौती: ‘आदर्श’ का गफ र ‘अर्ति–उपदेश’का पोका बोकेर यताउता नगर, ह्याउ भए आफ्नो घर बनाएर देखाऊ



काठमाडौं । नेकपा एमालेका उपमहासचिव तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसाल र भर्खरै एमालेले निकालेका पूर्व उपाध्यक्ष भीम रावललाई आफ्नो घर आफैँ बनाएर देखाउन चुनौती दिएका छन् ।

एमाले सचिवालय बैठकले रावलको संगठित सदस्यता खास्ने निर्णय गरेपछि शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै भुसालले ओलीमुक्त एमाले बनाउनुपर्ने अभिव्यक्ति दिएका थिए । भुसालले ओलीले एमालेको नेतृत्व छाड्नुपर्ने बताउँदै रावललाई आफ्नो पार्टीमा स्वागत गर्न आफूहरु तयार रहेको बताएका थिए । भुसालको उक्त अभिव्यक्तिलगत्तै रिमालले सामाजिक सञ्जालमार्फत जवाफ फर्काएका हुन् ।

रिमालले कवितात्मक शैलीमा स्टाटस लेख्दै ३९ सालयता आफूहरू निरन्तर पार्टी संगठन निर्माणमा लागिरहेको तर रावलले सँधै पार्टीभित्र विवादका लागि मौका खोजीमा रहेको आरोप लगाएका छन् ।

‘अनवरत ‘किच–किच’ गरेर बसिरहे। प्रत्येक चुनौती चिर्दै पार्टीले उचाइ छोएको बेला, सुरु भएको विवादमा, हामी एकताको पक्षमा उभियौँ,’’ उनले लेखेका छन्, ‘‘उनले विभाजनको बाटो रोजे । बाटो मात्र रोजेनन्, त्यस समूहलाई पनि बीचमै छोडे, अन्तै दौडिए। ‘आदर्श’का गफ र ‘अर्ति–उपदेश’का पोका बोकेर यताउता गरिरहे ।’’

फेरि एक समय ‘जोरीपारी’हरू ‘एमाले विनाको राजनीति’को खेतीमा लागेका बेला उनी ‘ओलीविनाको एमाले’ भन्दै उफ्रिएको रिमालको दाबी छ । रिमालले भुसाल र रावललाई आफ्नो पार्टी नै बनाएर देखाउन चुनौती दिएका छन्।

उनले लेखेका छन्, ‘अरे यार ! ह्याउ भए बनाएर देखाऊ न आफ्नो घर ! आफ्नो घरको मझेरीमा, आँगनमा, गन्द्रयाङ, गुन्द्रुङ गरिरेहका तिम्रा ‘हाँडाभाँडाुहरू बज्न नदेऊ न ! ढोका खोलुन् कि छेस्किनी लाउन्, अरूले उनीहरूका घरमा, जे गरुन् ! बाल मतलब !’

यस्तो छ रिमालको व्यंग्यात्मा कविता

उनी पो निसासिए रे!

उननचालीस सालदेखियता

हामी निरन्तर पार्टी संगठन निर्माणमा लागि रह्यौँ,

पार्टीभित्र सधैँ उनी-

विवादका लागि मौकाको खोजीमा रहे,

अनवरत ‘किचकिच’ गरेर बसिरहे।

प्रत्येक चुनौती चिर्दै

पार्टीले उचाइ छोएको बेला,

सुरु भएको विवादमा,

हामी एकताको पक्षमा उभियौँ,

उनले विभाजनको बाटो रोजे।

बाटो मात्र रोजेनन्,

त्यस समूहलाई पनि बीचमै छोडे- अन्तै दौडिए।

‘आदर्श’का गफ र ‘अर्ती-उपदेश’का पोका बोकेर यताउता गरिरहे।

एक समय फेरि आयो,

पार्टीमा बहस-विवाद सुरु भयो।

‘जोरीपारी’हरू-

‘एमालेबिनाको राजनीति’को खेतीमा लागे,

उनी ‘ओलीबिनाको एमाले’ भन्दै उफ्रिए।

विभाजनको लागि कसैलाई उचाले-

एकता भन्दै आफू अर्कातिर अल्झिए।

मौसम छ्याङ्ग भएपछि,

फेरि नयाँ चुनौती सामना गर्ने बेलामा-

छोडे, दौडिए- पार्टीकैविरुद्ध खनिए।

सानै सही-

असहमत ‘अरूहरू’ले दुःखैले बनाएको घरमा

लुसुक्क छिरे-

‘बन साङ्ला’ले ‘घर साङ्ला’लाई लखेटेझैँ

उल्टै हाकिम पल्टिए।

अहिले फेरि उनलाई लागेछ क्यारे-

कतै ‘टाँड’ पो पर्छ कि?!

कतै औँला घुसार्न पो मिल्छ कि?!

अनि भन्न थालेछन् फेरि-

‘ओलीले छोड्नुपर्छ, उकुसमुकस भएको छ।’

अरे यार!

ह्याउ भए बनाएर देखाऊ न आफ्नो घर!

आफ्नो घरको मझेरीमा, आँगनमा,

गन्द्रयाङ, गुन्द्रुङ गरिरेहका तिम्रा ‘हाँडा-भाँडा’हरू

बज्न नदेऊ न!

ढोका खोलुन् कि- छेस्किनी लाउन्,

अरूले उनीहरूका घरमा,

जे गरुन्-बाल मतलब!



प्रतिक्रिया दिनुहोस्