Logo

रवि लामिछानेको मात्रै होईन, देश लुट्नेहरु सबैको सम्पत्ति छानविन गर्नुपर्छः कांग्रेस नेता भण्डारी (भिडिओसहित)



काठमाडौं, १४ पुस । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा.चन्द्रकान्त भण्डारीले सहकारी ठगीमा संलग्न भएको जोसुकैमाथि अनुसन्धान र कारबाही हुनुपर्ने बताएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा उनले पत्रकार ऋषि धमलासँग संवाद गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनेरमा मात्रै सहकारी समस्या समाधान नहुने बताएका हुन् । सहकारीमा अपचलन भएको खर्बौं रुपैयाँको छानविनका लागि अब न्यायिक समिति नै आवश्यक पर्ने बताए ।

साथै, सम्पत्ति सुद्धीकरणको विषय रवि लामिछानेलाई मात्रै नभएर अकुत सम्पत्ति कमाएका व्यापारी, नेता, कर्मचारी सबैको छानविन हुनुपर्ने उनले बताए । न्यायिक समिति गठन गरेर अकुत सम्पत्ति आर्जन गर्ने र सहकारी ठगी गर्नेमाथि छानविन हुनुपर्ने उनले बताए । नेता भण्डारीले आरोपितको राहदानी पहिला नै रोक्का राख्नुपर्ने बताए ।

‘अहिले हाम्रो समाजमा दुई वटा मुद्दा उठेका छन् । एउटा सहकारी, जसको एक खर्बभन्दा बढी हिनामिना भएको छ । अहिले रविजीलाई ३ करोड ३७ लाख बराबरको सहकारीको बिगो लागेको छ । अब ३ करोड ३७ लाखभन्दा अर्बौंमा को–को परे त ? यसको छानविन गर्नुपर्यो । यसको छानविनको निम्ति के गर्ने ? एउटा व्यक्तिमात्रै थुनेर पुग्छ कि अब जनताको पैसा फिर्ता गर्ने ? हामी जनताको पैसा फिर्ता गर्न त पर्ला नि राज्यले. । दोस्रो सम्पत्ति सुद्धीकरण । अहिले रविजीको ५० करोडभन्दा मुनिको सम्पत्ति सुद्धीकरणको कुरा आइरहेको छ । अब यो देशमा अर्बौं खाने व्यक्तिहरु छन् । खुसीको कुरा नेपाली जनतामा के भन्नुहुन्छ भने अब सहकारीको मुद्दाको सुरुवात पनि रविबाट, सम्पत्ति सुद्धीकरणको मुद्दा पनि रविबाट भएपछि अब सबैको सम्पत्ति छानविन गर्नुपर्छ । सहकारीको पैसा पनि जनताले प्राप्त गर्नुपर्छ । देश लुट्नेहरुको पनि सम्पत्ति छानविन गर्नुपर्छ । अब चाहे कर्मचारी भएर कमाउने होस््, व्यापार गरेर मनपरी गरी कमाउने होस्, चाहे राजनीति गरेर मनपरी गरी कमाउने होस्, अब जनताको सामू यसलाई यथार्थ छानविन गर्नुपर्छ भन्ने मेरो आशय हो,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्