काठमाडौं । पूर्व उपाध्यक्ष डा भीम रावलको संगठित सदस्यता खोस्ने र स्थायी कमिटी सदस्य डा विन्दा पाण्डे तथा केन्द्रीय कमिटी सदस्य उषाकिरण तिमल्सेनालाई ६ महिना निलम्बन गर्ने निर्णय गरेको सत्तारुढ दल नेकपा एमालेले आफ्नो वेबसाइटमा अपडेट गरेको छ ।
एमालेको वेबसाइट सीपीएन-यूएमल डट ओआरजीमा नेतृत्व शीर्षकको सेगमेन्टमा क्लिक गर्दा पार्टीका विभिन्न तह र निकायको सूची देखिन्छ। त्यसमा स्थायी समितिका सदस्यहरूको सूचीबाट डा विन्दा पाण्डेको नाम हटाइएको छ।
एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त एवं पार्टीका निलम्बित सचिव टोपबहादु रायमाझीसँगै केन्द्रीय कमिटी सदस्यको पुच्छरमा पाण्डेको नाम राखेको छ । पाण्डेसँगै निलम्बनमा परेकी तिमल्सेनाको नामपनि त्यहीँ देखिन्छ । तीनै जनाको नामको मुनि निलम्बन भनेर जनाईएको छ ।
यसअघि पाण्डे स्थायी कमिटी सदस्य थिईन् भने तिमल्सेना केन्द्रीय सदस्य थिईन् । रायमाझी यसअघि एमालेका केन्द्रीय सचिव थिए। भुटानी शरणार्थी प्रकरणमा उनी पक्राउ परी पुर्पक्षका लागि थुनामा छन्।
एमालेको पार्टी कार्यालय बनाउन व्यापारी मीनबहादुर गुरुङले दिएको जग्गा दानको विषयमा असहमति राखेपछि गत कात्तिक ४ गते पाण्डे र तिमल्सेनालाई एमोलले स्प्रष्टीकरण सोधेको थियो । स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिएपछि गत बुधबारको बैडकले उनीहरुलाई ६ महिना निलम्बन गर्ने निर्णय गरेको थियो ।