काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल (क्रान्तिकारी) मा उमेर हद लाउने कि नलगाउने भन्ने विषयमा भएको मतदानको मतगणना स्थगित भएको छ ।
विवादका कारण गएरातिदेखि नै मतगणना स्थगित भएको हो ।उमेर हद लगाउने कि नलगाउने भन्ने विषयमा शनिबार देशभर मतदान भएको थियो । तर बैतडी, दाङ र गुल्मी जिल्लाको निर्वाचनका विषयमा विवाद भएपछि रातिदेखि नै मतगणना स्थगित गरिएको निर्वाचन समितिले जनाएको छ ।
शनिबार भएको मतदानमा करिव १८ सय मत खसेको अनुमान गरिएको छ । शनिबार ७७ भौगोलिक र अरू गैरभौगोलिक गरी ८६ जिल्लामा निर्वाचन भएको थियो। साँझ ७ बजेसम्म सबै जिल्लाबाट परिणाम आएको थियो। परिणामअनुसार ३२ वर्षे उमेर हद लगाउनुपर्ने पक्षमा ९१७ र विपक्षमा ८८४ मत आएको स्रोतले जनाएको छ ।
क्रान्तिकारीको अध्यक्षका लागि दाबी गरिरहेका नेताहरु उमेर हद लागू भए कोही पनि पदाधिकारी बन्न नपाउने निश्चित छ । उमेर हदको पक्षमा बहुमत आउने निश्चत भएपछि त्यसको विरुद्धमा रहेका केही नेताहरुले विभिन्न जिल्लामा उजुरी गरेर मत परिणामा उलटफेर पार्न कोशिस गरेको स्रोतले जनाएको छ । विद्यार्थीहरुबीच विवाद बढ्दै गएपछि शनिबार निर्वाचन समितिका संयोजक मुक्ति प्रधानले विज्ञप्ति निकालेका थिए ।
‘जिल्लाहरूको मतदान केन्द्रबाट निर्वाचनसम्बन्धी कागजपत्र प्राप्त हुन बाँकी भएकाले उक्त कागजपत्रहरू प्राप्त भएपछि मात्रै मत गणनाले पूर्णता पाउने हुँदा तत्पश्चात मतगणनाको परिणाम सार्वजनिक गरिने व्यहोरा सबैलाई जानकारी गराउन चाहन्छौं,’ शनिबार साँझ निर्वाचन आयोगले जारी गरेको सूचनामा उल्लेख छ।
मतगणना स्थगित गरेको निर्वाचन समितिले आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्दैछ । प्रचण्डसँगको छलफलपछि मतगणना गर्ने कि निर्वाचन प्रक्रिया स्थगित गर्ने भन्नेबारेमा निर्णय हुने बताईएको छ ।
गत असोज १० गतेदेखि काठमाडौंको कीर्तिपुरमा आयोजित अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलन उमेर हदको विषयमा विवाद चर्किँदा नेतृत्व चयन नगरी स्थगित गरिएको थियो । राष्ट्रिय सम्मेलनमा३२ वर्षे उमेर हद लागू हुनुपर्ने विषय उठेको थियो ।
त्यसमा सहमति नजुटेपछि मंसिर २३ गते नेतृत्व चुन्ने भन्दै सम्मेलन स्थगित गरिए पनि विवादका कारण रोकिएको थियो । अखिल क्रान्तिकारीको नेतृत्व छान्न १७ पुसमा चुनाव हुँदैछ ।