काठमाडौं । दक्षिण कोरियामा भएको विमान जेजु एयरको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १७९ पुगेको छ । ६ जना चालकदलका सदस्य र १ सय ७५ जना यात्रु बोकेको विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटनाग्रस्त भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार १८१ जनामध्ये २ जनाको जिवितै उद्धार गरिएको र बाँकी सबैको ज्यान गएको बताईएको छ ।
दुर्घटनाग्रस्त विमानबाट दुई जनाको भग्नावशेषबाट जीवितै उद्दार गरिएको थियो । उनीहरुको उपचार भइरहेको अधिकारीअरुले जनाएका छन् । दुर्घटनाको कारण खुल्न सकेको छैन । विमानमा चरा ठोक्किएर दुर्घटनाग्रस्त भएको अनुमान गरिएको छ ।
जहाजमा रहेका यात्रुहरूमा १ सय ७३ दक्षिण कोरियाली र दुई जना थाइ नागरिक रहेको योनहाप समाचार एजेन्सीले जनाएको छ । थाइल्याण्डको बैंककबाट आएको जेजु एयरको विमान दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा दुर्घटना भएको थियो ।