Logo

अर्थतन्त्र संकटमा छ, उद्योगी-व्यवसायीले सरकारलाई विश्वास गरेनन्ः पूर्व गभर्नर नेपाल



काठमाडौं, १४ पुस । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर चिरञ्जिवी नेपालले देशको अर्थतन्त्र संकटमा रहेको बताएका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अर्थतन्त्रमा समस्या रहेर नै सरकारले आयोग गठन गरेको बताए । अहिले बैंकमा निक्षेपमा ब्याजदर घट्दा निक्षेपकर्तालाई मर्का परिरहेको, कर्जामा औषत व्याजदर एकल विन्दुमा आएर उपभोक्ता र शेयर कर्जा केही बढेपनि उद्योग व्यवसाय बढ्न नसकेको, निजी क्षेत्रमा कर्जा प्रवाह बढ्न नसकेको उनले बताए ।

त्यस्तै, राजश्वमा सुधार हुनै नसकेको उनको भनाइ छ । अहिलेको वर्तमान स्थितिमा सरकार अत्यन्त चिन्तित हुनुपर्ने अवस्था रहेको उनले बताए । पाँच महिनामा पुँजीगत खर्च १२ प्रतिशतमात्रै भएको, राजश्व संकलन लक्ष्यभन्दा एक खर्बले कम रहेको र ऋण र साँवाको भुक्तानी डेढ खर्बभन्दा बढी भइसकेको बताउँदै उनले चालु आर्थिक वर्षमा सरकार डेढ खर्ब घाटामा रहेको बताए ।

‘खर्च प्रणालीमा सुधार हुन नसक्नु, पुँजीगत खर्च हुन नसक्नु, राजश्व राम्रोसँग उठ्न नसक्नु, बैंक र वित्तीय संस्थामा सात खर्बभन्दा बढी लगानीयोग्य रकम रहनु, रेमिट्यान्स बढेको स्थिति, विदेशी मुद्रा सञ्चिति बढेको स्थितिले अप्ठ्यारो परेको देखाउँछ । आन्तरिक रुपमा अर्थतन्त्र राम्रोसँग चलायमान हुन सकेको छैन,’– उनले भने ।

साथै, वर्तमान सरकारलाई उद्योगी, व्यवसायीले विश्वास नगरेको भनाइ छ । देशको अर्थतन्त्र भित्रीरुपमा असामान्य रुपमा रहेको बताए । पूर्व गभर्नर नेपालले बैंकमा थुप्रिएको पैसा व्यापारी, व्यवसायीहरुले खर्च गर्नै नसकेको बताए । ‘राजनीतिक स्थायित्व त छ भनेर तपाईँ हामीले भनेका छौं । दुईवटा ठूला पार्टीले गरेको हुनाले अब सरकार त अवश्य परिवर्तन हुँदैन, दुईवटा ठूला पार्टी मिलेर सरकार बनाएका छन् । तर, बैंकबाट पैसा लिएर लगानी गर्ने उद्योगी, व्यवसायी र बैंकबाट कर्जा लिने व्यक्तिलाई अझै शंका छ, के हो ? के हो ? भनेर । राजनीतिक स्थायित्व भन्दापनि लगानीकर्तामा आत्मविश्वास परेको छैन । जसले गर्दा लगानीयोग्य रकम खर्च हुन सकिरहेको छैन,’– उनले भने ।

अर्थतन्त्र चलायमान बनाउन केन्द्रीय बैंकले हदैसम्म कोशिस गरिसकेको भन्दै उनले अब सरकारले निजी क्षेत्रलाई प्रोत्साहित गर्ने प्याकेज ल्याउन आवश्यक रहेको बताए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्