काठमाडौं, १४ पुस । उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरता र आर्थिक विकासका लागि सरकारले काम गरिरहेको बताएका छन् । आज (आइतबार) सोलु दुधकुण्ड नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास गर्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन् । उनले जनतालाई थप अधिकारसम्पन्न बनाउन संविधान संशोधन गर्न लागिएको पनि दाबी गरे । संविधान जारी गर्दाजस्तै सबै राजनीतिक दलहरूसँग छलफल गरेरै संविधान संशोधनको प्रक्रिया अघि बढ्ने उनले बताए ।
‘संविधानलाई अझ प्रभावकारी बनाउन, तीन तहको सरकारलाई अधिबारसम्पन्न बनाउन करिब एक दशकको तीता मिठा अनुभवबाट सिकेर कहाँ कहाँ समस्या भयो ? त्यसलाई हल गर्न संविधान संशोधन गर्ने सहमति कांग्रेस–एमाले सरकार बन्दा नै भएको हो। त्यहीअनुसार अहिले छलफल अघि बढेको छ,’– उनले भने ।
फरक प्रसंगमा उनले जलवायु परिवर्तनको असरबाट नेपाल प्रभावित भएको भन्दै अब प्रकृतिमैत्री ढँगले विकास निर्माणको काम गर्नुपर्ने बताए । जथाभावी विकास निर्माण गर्न नहुनेमा जोड दिँदै उनले प्रकृतिमैत्री हुने गरि प्रविधिको प्रयोग गरेर विकास निर्माणको काम गर्नुपर्ने बताए ।
‘विकास निर्माणको काम त गर्नुपर्छ । तर, विकास निर्माण प्रकृतिमैत्री हुनुपर्छ भन्ने हामीलाई घटनाक्रमले हामीलाई सिकाएको छ । अब त्यही अनुसार विकास निर्माणको काम गर्नुपर्छ,’– उनले भने, ‘घर बनाउँदा, प्रशासनिक भवन बनाउँदा होस् वा विकास निर्माणको काम गर्द अब समय बमोजिम हामी चल्नैपर्छ । गाउँठाउँलाई जोगाउने हो भने वातावरणलाई हामीले ध्यान दिनैपर्छ ।’
उनले प्रशासकय भवन निर्माण भएपछि पालिकाको सेवाप्रवाह प्रभावकारी हुने र नागरिकले सहज रूपमा सेवा पाउने विश्वास व्यक्त गरे । उनले पर्यटकीय हिसाबले सोलुखुम्बु उत्कष्ट गनतव्य रहेको भन्दै ४० वर्ष अगाडि पिता गणेशमान सिंहसँग सोलुखुम्बु आएको स्मरण गरे । ४० वर्ष अगाडि र अहिले हेर्दा आफूले सोलुखुम्बुमा विकास निर्माणको हिसाबले धेरै परिवर्तन पाएको उनको भनाइ थियो । अहिले व्यवस्था फेरियो अवस्था फेरिएन गलत भाष्य बनाउन खोजिएको भन्दै यथार्थ त्यस्तो नरहेको उनले बताए ।
उपप्रधानमन्त्री सिंहले पालिकाको प्रशासकीय भवनको सिलान्याससमेत गरेका छन् । पालिकाको आन्तरिक स्रोतबाट बन्न लागेको उक्त भवन २ वर्षभित्रै बनिसक्ने बताइएको छ । कार्यक्रममा रक्षा मन्त्री मानबहादुर राई पनि सहभागी थिए ।