काठमाडौं, १४ पुस । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीको १५औं महाधिवेशनमा गगन थापा सभापतिमा उठ्नेबारे आफूलाई जानकारी नरहेको बताएका छन् । आज (आइतबार) जनकपुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले १५औं महाधिवेशनमा उठ्नेबारे गगनले आफूलाई केहीपनि नभनेको बताए ।
उनले गगन आजसम्म पनि आफ्नै गुटमा रहेको बताए । ‘आजको दिनपनि उहाँ हाम्रै ग्रुपमा हुनुहुन्छ । उहाँ उठ्छु भनेर मलाई त भन्नु भएको छैन । बाहिर तपाईँहरुलाई भनेको भए मलाई थाहा छैन । उठ्नुहुन्छ भने उठ्नुहुन्छ । त्यो त अधिकारको कुरा हो । अधिकार कसैको रोक्ने कुरा त भएन,’– उनले भने ।
साथै, कांग्रेस अधिवेशनमुखी भइसकेको उनले बताए । अधिवेशनमुखी भइसकेको अवस्थामा अलिअलि तलमाथि हुनुलाई स्वभाविक मान्नुपर्ने उनको धारणा छ । त्यस्तै सभापति शेरबहादुर देउवासँग पनि आफ्नो कुनै रिस, राग, द्वेष नरहेको उनले प्रष्ट पारे । ‘मेरो सभापतिजीसँग कुनैपनि किसिमको रिस, राग, द्वेष केही छैन । उहाँ मेरो आदारनीय सभापति हुनुहुन्छ । उहाँले बोलाएको बेला म जान्छु । मैले कुनै इन्फर्मेसन पाएँभने भेटेर भन्छु, फोनबाट भन्छु । उहाँसित होईन, मेरो कसैसित पनि, कुनैपनि नेपाली कांग्रेसका साथीहरुसित मेरो रिस, राग, द्वेष केहीपनि छैन,’– नेता कोइरालाले भने ।