काठमाडौं, १४ पुस । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले संविधान संशोधनका क्रममा धेरै कुरा चलाइयो भने गन्जागोलको स्थिति आउने बताएका छन् । आज (आइतबार) जनकपुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले संविधान धेरै चलाइयो भने फेरी ट्रयाकमा राख्न गाह्रो पर्ने बताएका हुन् ।
नेकपा (माओवादी केन्द्र), मधेशी दल, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतलाई पनि साथमा लिएर संविधान संशोधन गरिनुपर्ने उनको धारणा छ । कांग्रेस– एमालेमात्रै मिलेर संविधान संशोधन गर्ने सोचियो भने गलत हुने उनले बताए । ‘अहिले संविधानमा धेरै कुरा चलाउन मिल्दैन । संविधान चलाउन थाल्यो भने भएको संविधान पनि गन्जागोल हुन्छ र फेरी ट्रयाकमा राख्न गाह्रो पर्छजस्तो लाग्छ,’– उनले भने ।