Logo

‘एमालेको लिगेसी’ भन्दा बाहिर नजान भीम रावललाई कार्यकर्ताको सुझाव



काठमाडौं । सत्तारुढ दल नेकपा एमालेबाट निस्कासित भएका पूर्वउपाध्यक्ष भीम रावलले ‘आगामी राजनीति यात्रा’बारे आफ्ना समर्थक तथा सुभेच्छुकसँग आन्तरिक परामर्श गरिरहेका छन्।

शुक्रबारदेखि ‘रावल निवास टोखा’मा एमाले नेता–कार्यकर्ताहरूको चहलपहल बाक्लिएको छ। एमालेको शीर्ष नेतृत्वबाट हेपिएका, कतिपय जिम्मेवारी खोसिएका र गुटबन्दीको चेपुवा पारिएका जिल्लादेखि प्रदेश तहसम्मका पूर्वसदस्य तथा पदाधिकारीहरूले नेता रावलसँग संवाद थालेका छन्।

रावलनिकट स्रोतकाअनुसार शनिबार दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका डेढ दर्जन बढी केन्द्रीय सदस्यहरूले उनलाई भेटेर थप सल्लाह–सुझाव दिएका छन्। भेटमा सहभागी अधिकांश नेताहरूले उनलाई ‘एमालेको लिगेसी’ भन्दा बाहिर नजान सुझाएका छन्। उनीहरूले एकीकृत समाजवादी पनि ‘रावलको विकल्प’ नभएको बताउँदै नहतारिन आग्रह गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

‘कमरेड भीम रावलसँग हिजो दिउँसो छोटो तर महत्वपूर्ण कुराकानी भयो। त्यहाँ हामी १३–१४ जना केन्द्रीय सदस्यहरू पुगेका थियौँ, अहिलेलाई यत्ति भनौँ कि हाम्रो बीचमा सकारात्मक छलफल भएको छ,’ भेटमा सहभागी ती नेताले भने।

नेता रावलले छुटाछुट्दै समूह बनाएर पालिका कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीमा असन्तुष्ट रहेका एमाले नेता–कार्यकर्ताहरूको सूची तयार पारिरहेका छन्। स्रोतका अनुसार उपाध्यक्षनिकट कतिपय एमाले केन्द्रीय सदस्यहरूले पनि हौसला दिइरहेका छन्। उनीहरूले नेता रावललाई एक्लाएक्लै भेट्न खोजिरहेका छन्।

निकटस्थहरूसँग भावी रणनीतिबारे छलफलमै रहेका नेता रावललाई अहिलेसम्म केही केन्द्रीय सदस्यसहित १३ जिल्ला अध्यक्षले पनि समर्थन रहेको बताएका छन्। उनले २१ र २२ एमाले केन्द्रीय कमिटी बैठकलाई मध्येनगर गर्दै पत्रकार सम्मेलनबारे पनि तयारी गरिरहेका छन्।



प्रतिक्रिया दिनुहोस्