काठमाडौं, १४ पुस । नेकपा (एकीकृत समाजवादी) महासचिव घनश्याम भुसालले डेडिकेटेड टङ्क लाइन विवाद समाधान नहुनुमा प्रधानमन्त्री केपी शर्मा ओली मुख्य दोषी रहेको बताएका छन् । आज (आइतबार) नेपालमा जलसम्पदाको समाजशास्त्र विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले डेडिकेटेड टङ्क लाइन विवादमा ओली आफैं लाठी लिएर मैदानमा निस्किएपछि समस्या आएको बताएका हुन् । उनले ओलीलाई प्रधानमन्त्रीकै हैसियतमा बस्न र कूलमान घिसिङलाई कार्यकारी निर्देशककै रुपमा काम गर्न दिन सुझाव दिए । डेडिकेटेड टङ्क लाइन विवादमा विजुली बाल्नेले पैसा तिर्नुपर्ने उनको भनाइ छ ।
‘यहाँ समस्या ओलीजी आफैं लाठी लिएर मैदानमा निस्किएपछि बढी समस्या भएको हो । नत्र यस्तो समस्या बन्दैन । उसले त राज्य चलाउने हो नि । कानुनी राज्य भयो कि भएन भनेर हेर्ने हो । एउटा कर्मचारीसँग झगडा गरेको छ । उहाँ प्रधानमन्त्री नै रहिदिनु भयो भने, कुलमान डीजी नै रहिदिनु भयो भने यो समस्या समाधान हुन्छ,’– महासचिव भुसालले भने ।
साथै, कमेन्ट गर्दापनि एमाले जाइ लाग्ने अवस्थामा पुगेको उनले बताए । हिजो आफूले एमालेप्रति गरेको कमेन्टमा ‘हाम्रो पार्टी किन हेर्छस् ?’ भनेर जवाफ आएको बताए । उनले हिजो एमाले अध्यक्ष ओली स्वैच्छाचारी हुँदै गएको, एमालेमा अहिले उकुसमुकुसको अवस्था रहेको भन्दै ओलीले अब नेतृत्वबाट बाहिर निस्किनु राम्रो हुने सुझाव दिएका थिए ।
महासचिव भुसाललक्षित गर्दै प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकारसमेत रहेको विष्णु रिमालले ‘ह्याउ भए आफ्नै पार्टी बनाएर देखाउ’ भन्दै प्रतिक्रिया जनाएका थिए । सोही प्रसंग उल्लेख गर्दै महासचिव भुसालले भने,‘हिजो मैले यसो कमेन्ट गरेको थिएँ, हाम्रो पार्टी किन हेर्छस् भनेर लेखेछन् । छिमेकको ठूलो घर भत्कियो भने मेरोपनि घर भत्काइदिन्छ । त्यसले झगडा गर्यो भने मलाई सुत्न दिँदैन । त्यो पड्कियो भने मेरो वरिपरी, परिवारमा समस्या हुन्छ । File Photo/RN