Logo

पुराना रेकर्डहरु ब्रेक गरी नयाँ-नयाँ कीर्तिमान कायम गर्दै जानुपर्छः प्रधानमन्त्री ओली



काठमाडौँ, १४ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले सुन्दर, शान्त र समृद्ध नेपाल बनाउने आफूहरुको साझा उद्देश्य भएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा एमाले अध्यक्ष ओलीले विभिन्न पेसा व्यवसायमा रहेका व्यक्तिहरुको रुचि फरक–फरक हुने भए पनि साझा उद्देश्य समृद्ध नेपाल नै भएको बताएका हुन् ।

‘एमाले एउटा नदी हो, यसमा सबै खोला मिसिन्छिन् । मौरीको सङ्गत लागेर मौरीको पछिपछि लागेमा फूलबारीमा पुगिन्छ । झिँगाको सङ्गत गरेर उसको पछिपछि लागेमा फोहोरको डङ्गुरमा पुगिन्छ । तपाईंहरुको एमालेमा आउने छनोट सही छ । तपाईंहरु नमूना हुनुपर्छ”, प्रधानमन्त्री ओलीले भने, ‘प्रवेशका माध्यममा पार्टीमा समाहित भएकाहरु सबै मिलेर हामी साझा उद्देश्यका परिवार भएका छौँ । हामीले नेपाल प्रतिभाहरुको देश हो भन्ने कुरा स्थापित गर्नुपर्छ । हरेक पुराना रेकर्डहरु ब्रेक गर्नुछ र नयाँ नयाँ कीर्तिमान कायम गर्दै जानुपर्छ । युवाहरुलाई भड्काउने अनेक जालझेलबाट बच्नुपर्छ,’– उनले भने ।

प्रधानमन्त्री ओलीले आफूहरुलाई प्रभाव छोड्नपर्ने नभई कामको नतिजा निकाल्नुपर्ने भएकाले साँचो र यथार्थपरक जीवनयापन गर्न आग्रह गरे । नेपाल जेसिजका निवर्तमान राष्ट्रिय अध्यक्ष रविन पोखरेल, ‘मिसेज हेरिटेज इन्टरनेसनल’का विजेता बिभा बस्नेत, युवाहरु शिवानी गौतम, गायत्री बिसीलगायत एमालेमा प्रवेश गरेका छन् ।

कार्यक्रममा एमाले उपमहासचिव विष्णुप्रसाद रिमाल, सङ्गठन विभाग प्रमुख काशिनाथ अधिकारी, जनसङ्गठन संयन्त्र इञ्चार्ज भानुभक्त ढकाललगायत उपस्थिति थियो । File Photo/RN



प्रतिक्रिया दिनुहोस्