काठमाडौं, १४ पुस । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) को उमेर हदको विवाद टुङ्गो लगाउन भएको निर्वाचनको नतिजा सार्वजनिक भएको छ । नतिजा आएसँग अनेरास्ववियू (क्रान्तिकारी) को नेतृत्वमा ३२ वर्षे उमेर हद लागू भएको छ ।
उमेर हद छिनोफानोका लागि हिजो भौगोलिक र गैर भौगोलिक ८६ वटा जिल्ला मतदान केन्द्रमा मतदान भएको थियो । उमेर हद लागू गर्नुपर्ने पक्षमा ९०० मत र उमेर हद खुल्ला हुनुपर्ने पक्षमा ८७९ मत परेको थियो ।
अनेरास्ववियू (क्रान्तिकारी) का नेताहरु दीपेश पुन, जीपी मैनाली, मदन भुल, नरेश रेग्मी, केशव रावललगायत उमेर हद खुल्ला हुनुपर्ने पक्षमा थिए ।
उमेर हद लागू गर्नुपर्ने र संगठन वास्तविक विद्यार्थीको हातमा बुझाउनुपर्ने पक्षमा अनेरास्ववियू (क्रान्तिकारी) मा आवाज उठ्दै आएको थियो । स्ववियू सभापति, दुई सयभन्दा बढी क्याम्पस इकाइका अध्यक्षहरु, निवर्तमान केन्द्रीय उपाध्यक्ष क्षितिज सापकोटा, प्रतीक कार्की, मदन राई, रोशन थापामगर, हेमन्त राई, अटल आचार्यलगायतका विद्यार्थी नेताहरु उमेर हदको पक्षमा थिए । file Photo/RN