काठमाडौं ।‘जस्ट फ्युचर्स पहल’ संस्थाले ६ दलित महिलालाई ‘दामल फेलोसिप(२०२५’ प्रदान गर्ने भएको छ।
संस्थाले जारी गरेको विज्ञप्तिअनुसार अञ्जना विशंखे, अस्मिता माझी, ककुन्ती रविदास, मधु महरा, सीता बौडेल र सीमा बैठालाई फेलोसिप दिने निर्णय गरिएको हो।
जात, लैंगिकता, यौनिकता र वर्गको सेरोफेरोमा रहेका भाष्य, ज्ञान र कल्पनाबारे गहन समालोचनात्मक बुझाइका साथै लिखित र गैरलिखित नयाँ सिर्जना गर्ने उद्देश्यले उक्त फेलोसिप दिइएको संस्थाले जनाएको छ।
यसरी फेलोसिप पाउने ६ जनामध्येमा दुई जना पूर्व सांसद हुन् । फेलोसिप पाएकी सीतादेवी बौडेल पूर्व सांसद हुन् । माओवादी सशस्त्र युद्धमा सामेल भएर माओवादी सेनामा छापामारको रूपमा सक्रिय काम गरेकी सीताले न्यायको लागि लडिने राजनीति र न्यायिक समाज निर्माणमा छुट्टै अनुभव र अन्तर्दृष्टि कमाएकी छिन् ।
सीता पहिलो संविधानसभाको दलित समुदायबाट प्रत्यक्ष निर्वाचित सांसद थिइन्, जहाँ उनले नेपालको संविधान लेख्न क्रियाशील भएकी थिइन् । सांसदको हैसियतमा सीताले मौलिक अधिकार समितिमा र राज्यको नीति तथा निर्देशक सिद्धान्त निर्माणमा काम गरेकी थिइन् । उनी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रकी केन्द्रीय सदस्य र अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रीय सचिव हुन् ।
तीन दशकभन्दा बेसी समयदेखि वामपन्थी राजनीतिमा क्रियाशील छिन् अञ्जना बिशंखे । अञ्जना नेपालको प्रतिनिधि सभाका पूर्व सदस्य हुन्, जहाँ उनले संसदको शिक्षा तथा स्वास्थ्य समितिका सदस्य भएर काम गरेकी थिइन् । उनी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको स्थायी समितिका सदस्य र बागमति प्रदेशको सेक्रेट्यारियटका सदस्य हुन् । उनी हाल अन्तरदलीय दलित महिला गठबन्धनको संयोजकको पदमा पनि क्रियाशील छन् ।
सीमा बैठा मधेशको धोबी समुदायकी शिक्षिका हुन् । उनले स्नातक तह उत्तीर्ण गरेकी छन् । उनी आमाबुबासँग हटियामा चप्पलको ब्यापार र घरमा हुँदा कपडामा पेन्टिङ र सिलाइ–बुनाइ पनि गर्छिन् ।
मधु महरा समय–सन्दर्भ हेरेर तुरुन्तै कविता लेख्न सक्ने क्षमता भएकी व्यक्ति हुन् । ककुन्ती रविदास २ छोरा र १ छोरीलाई स्याहार्दै स्नातक तहमा अध्यनरत छिन् । मधेशी दलित समुदायभित्र पर्ने चमार सुमदायकी ककुन्तीले सानैदेखि विभेद देखेकी र भोगेकी छन् । आफ्नो समुदायको बाक्लो संख्यामा भए पनि अन्य जातकै हालीमुहाली रहेकोले विभेद र छुवाछूत कायमै रहेको उनको भोगाइ छ ।
बाराकी अस्मिता माझी स्नातक तह अध्ययन गर्दै विद्यालयमा पार्टटाइम पढाउँछिन् । शिक्षामा मुसहर समुदायको निकै न्यून पहुँच रहेको अवस्थामा उनी श्रम गर्दै स्नातक हुँदैछिन् । उनी ७ जना परिवारको जीविकाको लागि बिदाको बेला आमासँगै कृषि मजदुरी गर्छिन् । उनीहरु अरूको खेत अँधिया बटीयामा खेत जोत्ने गर्छन् भने उनका बुबा वैदेशिक रोजगारमा छन् ।
जंगबहादुरकालीन १९१० सालको मुलुकी ऐनअनुसार वर्ण, जात र लिंगका आधारमा दिइने सजाय ‘दामल’ शब्दका आधारमा यस फेलोसिपको नाम राखिएको हो। नेपालभित्र र बाहिर न्याय, समता, सम्मान, समावेशी लोकतन्त्र, दिगो भविष्यबारे नयाँ भाष्य निर्माण गर्ने लक्ष्य फेलोसिपले राखेको छ।