काठमाडौं, १५ पुस । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले वर्तमान सरकारको आयु लामो नरहेको टिप्पणी गरेका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले वर्तमान सरकार अपवित्र, अप्राकृतिक र अनैतिक तरिकाले बनेको भन्दै यसको आयु लामो नरहेको दाबी गरेका हुन् ।
अध्यक्ष साहले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार बनेको ६ महिनामै शेरबहादुर देउवालाई जिम्मा लगाउन खोजेको समेत दाबी गरे । ओलीले आफूले अब सरकार चलाउन नसक्ने कुरा देउवालाई भनिसकेको अध्यक्ष साहको दाबी छ । उनले भने, ‘केपीजी उल्टै भनिरहनु भएको छ कि देउवाजी लिइदिनुस् प्रधानमन्त्री । १८ महिना पनि अब परेन रे । ६ महिनामै लिइदिनुस् भन्दापनि पुगिरेहको छैन । ठेगान छैन सरकारको । किनकी अपवित्र हो । अपवित्र, अप्राकृतिक र अनैतिकको आयु लामो हुँदैन ।’
यो पनि पढ्नुहोस्ः टार्नै नसक्ने संकट आईलागे सत्ताको चाबी देउवालाई बुझाउन प्रधानमन्त्री ओली तयार
वर्तमान सरकारलाई कसैले ढाल्न आवश्यक नरहेको उनको भनाइ छ । उनले कांग्रेस–एमालेबीच प्लस–प्लसको सम्बन्ध रहेको बताउँदै सरकार आफैं ढल्ने दाबी गरे । ‘सरकार आफैं ढल्दैछ । प्लस–प्लस तार एक ठाउँमा जोडिदिएपछि अरुले फ्यूज गराउनुपर्छ र ? आफैं फ्यूज हुन्छ । उहाँहरु प्लस–प्लस जोडिइराख्नु भएको छ । अप्राकृतिक सम्बन्ध बनाइराख्नु भएको छ । बल्ब फ्यूज भइरहेको छ । कसैले ढाल्नु पर्दैन । प्लस–प्लस जोडिएको बल्ब कसैले निभाउनु पर्दैन । आफैं निभ्छ । कांग्रेस–एमालेको सम्बन्ध भनेको प्लस–प्लसको सम्बन्ध हो । नमिल्ने सम्बन्ध हो,’– उनले भने ।
उनले कांग्रेस–एमालेको दोस्तीलाई ‘सुँगुर र हात्तिको दोस्ती’ को संज्ञा दिए । मिल्नै नसक्ने दोस्ती गरेर कांग्रेस–एमालेले देश बर्वाद गरिरहेको उनको अराोप छ । अहिले कांग्रेस–एमाले निजी स्वार्थका मिलिरहेको र देश बर्वाद भइरहेको उनको दाबी छ ।