Logo

मन्त्री दाहाललाई प्रश्नः देशको सम्पत्ति दुरुपयोग गरेर प्रधानमन्त्री पार्टीको कार्यक्रममा जान मिल्छ ? (भिडिओसहित)



काठमाडौं, १५ पुस । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको व्यस्तताको कारण हेलिकोप्टरबाट पर्साको कार्यक्रममा जानुपरेको बताएका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सोही दिन काठमाडौंको अर्को कार्यक्रम पनि भ्याउनुपर्ने भएकाले प्रधानमन्त्री ओली हेलीकोप्टरमार्फत पर्सा पुगेर फर्किएको बताएका हुन् ।

पर्साको सखुवा प्रसौंनी गाउँलिकाका पूर्व अध्यक्ष प्रदीप जैसवाललाई पार्टी प्रवेश गराउन प्रधानमन्त्री ओली त्यहाँ पुगेका थिए । पार्टी केन्द्रीय कार्यालय च्यासलमा पनि एमालेले पार्टी प्रवेश कार्यक्रम राखेको थियो । प्रधानमन्त्री ओलीले हिजो पार्टीका दुवै कार्यक्रम भ्याएका थिए । पार्टीको कार्यक्रममा नेपाली सेनाको हेलिकोप्टर एनए ०६७ अगुस्टा प्रयोग गरेपछि उनी विवादमा तानिएका छन् ।

‘देशको सम्पत्ति हेलिकोप्टर दुरुपयोग गरी प्रधानमन्त्री पार्टीको कार्यक्रममा जान पाइन्छ ?’ भन्ने प्रश्नमा उनले भने, ‘प्रधानमन्त्री भनेको व्यस्त कार्यक्रम भएको व्यक्ति हो । अरुजस्तो होइन । त्यहाँ गएर त्यो कार्यक्रम गर्नैपर्ने थियो । त्यो कार्यक्रम सकेर आएर पनि यहाँ फेरि कार्यक्रम थियो । काठमाडौंमा कार्यक्रम थियो, त्यसले गर्दा काठमाडौंको कार्यक्रम पनि भ्याउनुपर्ने र त्यहाँको कार्यक्रम पनि भ्याउनुपर्ने भएकाले हेलिकोप्टरको प्रयोग गर्नुनै हुन्छ उहाँले । गर्नुभएको होला, स्वभाविक रुपले । तर, त्यही कार्यक्रमको लागि मात्रै र त्यो एउटा मान्छे प्रवेश गराउनका लागि मात्रै होईन । त्यहाँ अरुपनि पार्टीका कार्यक्रमहरु थिए ।’



प्रतिक्रिया दिनुहोस्