काठमाडौं, १५ पुस । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले वर्तमान संविधान खारेज गरिनुपर्ने बताएका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले वर्तमान संविधान खारेज गरिनुपर्ने र संविधान बनाउने नेताहरुलाई झुण्ड्याउनुपर्ने बताएका हुन् । उनले जनआन्दोलन, जनादेश र संविधान सभाको भावनाविपरीत संविधान बनाइएको बताए ।
‘संविधान संशोधन आजको आवश्यकता हो कि होईन ?’ भन्ने प्रश्नमा उनले भने, ‘संविधान खारेज गर्नुपर्छ, के–को संशोधन गर्ने ? यो संविधान बनाउने नेताहरु झुण्ड्याउनुपर्छ । संविधान सभाबाट होईन, ती नेताहरुले कुकर्म गरेर बनाएको हो । संविधान सभा भनेको जनआन्दोलनको बेसमा बनेको हो । जनआन्दोलनको जनादेशविपरीत जाने छुट संविधान सभालाई थिएन । संविधान सभाको जनादेशविपरीत जाने नेताहरुलाई छुट थिएन । जनादेश, जनआन्दोलन र संविधान सभाको विरुद्ध नेताहरुले कुकर्म गरेका छन् । आज देशले वर्बादी भोगिरेहको छ, ती नेतालाई फाँसीमा झुण्ड्याउनुपर्छ ।’
संविधान सभामा बेइमानी हुँदा र जनताको अधिकार लुटिँदा अहिले लोकतन्त्रको ठाउँमा दल तन्त्र हाबी भएको उनको दाबी छ । आफूहरुले राष्ट्रियताको लागि लडेकोमा विदेशीलाई नेपालको नागरिकता दिनेजस्तो राष्ट्रघाती काम गरिएको र संघीयताको लागि लडेकोमा ७६१ सरकारको तमासा देखाइएको उनको टिप्पणी छ ।
त्यस्तै, नेता साहले आफूहरुले समानुपातिक व्यवस्थाको लागि लडेकोमा यो संविधानले शासकलाई नै समानुपातिक अधिकार दिएको बताए । ‘मैले राम्रो व्यवस्थाको लागि लडेको थिएँ । मैले संविधान सभामा नाङ्गै आँखाले हेरेँ, बेइमानी भएको, लुट भएको, जनताको अधिकार लुटिएको । हामी लडेको लोकतन्त्रको लागि हो नि, दलतन्त्र भयो । हामी राष्ट्रियताको लागि लडेका थियौं, विदेशीलाई नागरिकता दिलाउने राष्ट्रघाती काम गरे । संघीयताको लागि लडेका थियौं, आज ७६१ सरकारको तमासा बनाए । हामीले समानुपातिकको लागि लडेका थियौं, शासकलाई समानुपातिक अधिकार ? दुनियाँमा सुन्नुभएको छ आरक्षणको अधिकार शासक जातिलाई ? हामी प्रतिस्पर्धाको लागि लडेका थियौं, सिन्डिकेट ल्याइदिए । यसरी बेइमानी गरेको हेरेपछि प्रभु साहले ताली बजाउँछ ? मैले भनेको छु– जनताको आँखा खुल्नेछ, यी बेइमान र ठग नेताहरुलाई जनताले झुण्ड्याउने छन् ।’