काठमाडौं, १५ पुस । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का महासचिव डा.सुरेन्द्र झाले सरकारले न्यूनतम् काम पनि गर्न नसकेको टिप्पणी गरेका छन् । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले नागरिकका न्यूनतम् आवश्यकताहरु खानेपानी, स्वास्थ्य सेवालगायतको क्षेत्रमा सरकारले काम गर्न नसकेको बताएका हुन् ।
‘आज सरकार छ । तर, सरकारले गर्नुपर्ने न्यूनतम् कार्य पनि गर्न सकिराखेको छैन । जनताले पानी किनेर खानुपर्ने अवस्था छ । नागरिकलाई अस्पतालमा बेड दिन सकिराखेका छैनौं । स्वास्थ्य सेवा सुविधा उपलब्ध गराउन सकिएको छैन । मैले काठमाडौंको कुरा गरिराखेको छु,’– उनले भने ।
त्यस्तै, स्थानीय सरकारले पनि प्रभावकारी काम गर्न नसकेको उनको भनाइ छ । स्थानीय सरकार जनताको नजिकको सरकार भएपनि डेलिभरी दिन नसकेको र नागरिकले सेवा सुविधा पाउन नसकेको उनको भनाइ छ । उनले गाउँ–गाउँमा सिंहदरबारको नाममा सिंहमात्रै पुगेको र जनता जोखिममा रहेको बताए । ‘गाउँ–गाउँमा सिंहदरबार जान्छ भनेर हामीले तीन तहको सरकार संघर्ष गरेर ल्यायौं । तर, आज समस्या कहाँ भयो भने सिंह चाहीँ गए र नागरिकलाई खाने अवस्थामा छ,’– उनले भने ।
त्यस्तै, संविधान संशोधनको एजेण्डामा आफूहरु अग्रगामी संशोधनको पक्षमा रहेको बताए । उनले संविधानमा के लेखिएको छ भन्दापनि अहिले काम गर्ने शैली र राजनीतिक नेतृत्वको नियतमा समस्या देखिएको बताए । ‘संविधान संशोधन हुँदा अग्रगमनको लागि संशोधन हुनुपर्यो । संविधान संशोधनको एजेण्डामा हामी प्रतिगमनतिर जाने कुरा हुँदैन । यहाँ संविधानको के लेखिएको छ, के लेखिएको छैन भन्दापनि काम गर्ने शैलीमा समस्या छ । नियतमा समस्या देखिएको छ नीतिमा भन्दापनि,’– उनले भने ।
त्यस्तै, केही व्यक्तिलाई थुनामा राखेर सहकारी पीडतले न्याय नपाउने उनले बताए । को मान्छे जेल गयो भन्ने कु्रामा भन्दापनि आम जनताले बचत फिर्ता पाएकी पाएनन् भन्ने कुरालाई चासोको रुपमा लिइनुपर्ने उनको भनाइ छ । महासचिव झाले सहकारी ठगीमा मुछिएका सबैमाथि अनुसन्धान हुनुपर्ने र दोषीलाई कारबाहीको दायरामा ल्याइनुपर्ने बताए । दल र अनुहार हेरेर कसैलाई उन्मुक्ति दिन नहुने उनले बताए । ‘सरकारले १५ लाख पीडित जनताको पैसा फिर्ता गर्नुपर्छ । तत्कालको समस्या यो हो,’– उनले भने ।
उनले सुशासन नै वर्तमान सरकारको एजेण्डा हुनुपर्ने बताए । महासचिव झाले संविधान संशोधन गर्न गठन हुने कार्यदलमा सबै दलको सहभागिता हुनुपर्ने बताए । वर्तमान सरकार असफल भएको खण्डमा व्यवस्था र संविधान नै असफल हुने खतरा रहेको उनको भनाइ छ ।