Logo

प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्रका जनतालाई प्रचण्डको अपिल, ‘भ्रष्टाचारमुक्त नेपाल निर्माण गर्न माओवादीलाई साथ दिनुस्’



काठमाडौं, १५ पुस। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी निर्वाचनबाट पार्टीलाई पहिलो बनाएर भ्रष्टाचारलाई जरैबाट उखेलेर फाल्ने उद्घोष गरेका छन् । झापाको गौरीगञ्ज गाउँपालिकामा आयोजित खबरदारी सभा तथा वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादीले भ्रष्टाचारविरोधी अभियानलाई राष्ट्रिय अभियानको रूपमा अघि बढाएको र त्यसमा जनताको तागत जोडिन आवश्यक रहेको बताएका हुन् । उनले भ्रष्टाचारमुक्त नेपाल निर्माण गर्न जनताको तगत आवश्यक रहेको र त्यो सम्भव रहेको बताए ।

‘अब मसँग भ्रष्टाचारमुक्त मुलुक निर्माण गर्ने, उपेक्षित, उत्पीडित जनतालाई अधिकारसम्पन्न बनाउने र आर्थिक समृद्धिमार्फत जनताको जीवनस्तर बदल्नेबाहेक अरु कुनै विकल्प छैन’ अध्यक्ष प्रचण्डले भने, ‘तपाइँहरुको तागत मसँग जोडियो भने देशबाट दलाल, बिचौलिया र भ्रष्टहरुलाई लखेटेर भ्रष्टाचारमुक्त मुलुक बनाउन सम्भव छ र बनाइने छ,’– उनले भने ।

देशैभरि माओवादी केन्द्रप्रति नयाँ आशा र भरोसा बढ्दै गएको र केही समयअघिको निर्वाचनबाट कोशी प्रदेशमा माओवादी केन्द्र पहिलो बनेको र देशभर पनि उल्लेख्य प्रगति भएको प्रचण्डले बताए । उनले स्थानीय तहको उपनिर्वाचन २०८४ को निर्वाचनको संकेत भएको बताउँदै माओवादी एक्लै चुनाव लड्न सक्दैन भन्ने गलत भाष्य अब खारेज भएको दाबी गरे । ‘हिजो कांग्रेस वा एमालेसँग मिलेर उनीहरुलाई पहिलो पार्टी बनाउनतिर समय खेर फालियो’ उनले भने, न्नुभयो ‘अब एक्लै लडेर हामी एक नम्बरको पार्टी बन्छौं।’

अध्यक्ष प्रचण्डले अहिले नेपाली जनताले प्रयोग गर्न पाएको राजनीतिक अधिकार माओवादीकै कारण सम्भव भएको बताए । उनले बाँकी राजनीतिक अधिकारलाई पूर्णता दिन, सुशासन, सामाजिक न्याय र समृद्धिलाई प्राथमिकताका साथ अघि बढाउन माओवादीलाई आम नागरिकको साथ आवश्यक रहेको बताए ।

झण्डै छ सय जना माओवादी केन्द्रमा प्रवेश

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी करीब छ सय जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नवप्रवेशीहरूलाई अध्यक्ष प्रचण्डले स्वागत गरे । पार्टी प्रवेश गर्नेहरूमा अधिकांश राजवंशी समुदायका छन् । कार्यक्रमअघि अध्यक्ष प्रचण्डले गौरिगञ्ज–१ मा तिलक राजवंशीको घर पुगेर कोच संस्कृतिअनुसार खाना खाएका थिए । अध्यक्ष प्रचण्डलाई कोच संस्कृतिको भोजन उसिना चामलको भात, कोचहरूको भाषामा भनिने पेलका साग, आलु कोपीको भाजी, अग्र्यानिक माछा, लोकल हाँस, टमाटरको अचार, धनियाको चटनी र पापडलाई कोलाको पातमा दिइएको थियो । Photo Source: Ranjit Tamang/Facebook



प्रतिक्रिया दिनुहोस्