काठमाडौं, १६ पुस । नेपाल कम्युनिष्ट पार्टी मालेका महासचिव एवं पूर्वउपप्रधानमन्त्री सीपी मैनालीले केपी शर्मा ओलीलाई इतिहासकै विवादित प्रधानमन्त्रीको संज्ञा दिएका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले यती, ओम्नी, गिरीबन्धु, जग्गा दानलगायतका विषयमा ओली विवादमा तानिएको नेता मैनालीले बताएका हुन् । ओलीले आफूमाथि लागेको आरोपमा अहिलेसम्म कुनै प्रष्टीकरण नै दिन नचाहेको उनले बताए ।
‘सबैभन्दा विवादास्पद प्रधानमन्त्री खोज्नुपर्यो भने केपी शर्मा ओली । उहाँको विषयमा यतिधेरै विवादहरु उठेका छन् । ओम्नी, कोभिड काण्डमा भएको गतिविधि, गिरीबन्धु टी स्टेटमा कमिशन खाएर कानुन बनाएको, ३० अर्ब बराबर लगानी गरेको कुरा, विवादास्पद व्यवसायीबाट केपीले आफैंले पहल गरेर त्यत्रो १४ रोपनी जग्गा, घरपनि सित्तैमा बनाइदिने यी कुराले यिनलाई विवादित बनाएको छ,’– उनले भने ।
उनले प्रधानमन्त्री ओलीको कम्बोडियाको टेलिकममा लगानी छैन भनेर आफूले भन्न सक्ने अवस्था नरहेको उनले बताए । यदि विदेशमा लगानी नगरेको भए समिति बनाएर छानविनका लागि बाटो खोलिदिन ओलीलाई मैनालीले चुनौति दिए । ‘उनीमाथि यत्रो आरोप लाग्यो । होईन भने केपी ओलीले उनका आलोचक, विशेषज्ञहरुलाई, निष्पक्ष मान्छेहरु, जो उनका आलोचक पनि हुन्, त्यस्ताको तीन जनाको टोली बनाएर त्यहाँ जाँचबुझ गर्न पठाउने र यदि उनले लगानी गरेकै छैन भने त्यसले आएर भन्छन् नि । उनमा त्यो आँट छ ?’ प्रश्न गर्दै महासचिव मैनालीले भने । File Photo/RN