Logo

बिपी र गणेशमानलाई सम्झिँदै देउवाले भने: उहाँहरू ठूलो खतरा र चुनौतीबीच मेलमिलापको नीति लिएर नेपाल फर्कनुभएको थियो



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ठूलो खतरा र चुनौतीकाबीच बीपी कोइराला र गणेशमान सिंह मेलमिलापको नीति लिएर भारतबाट नेपाल फर्किएको स्मरण गरेका छन् । मंगलबार राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा काठमाडौंको क्षेत्रपार्टीमा पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमान्त्रीसमेत रहेका देउवाले सो कुरा बताएका हुन् ।

कार्यक्रममा बोल्दै देउवाले मेलमिलापको नीति कांग्रेसका लागिमात्र नभएर देशका लागिनै आवश्यक भएको र त्यसका लागि कांग्रेसले अग्रसरता लिनुपर्ने बताए । ‘कांग्रेसका लागि मात्र होइन, देशभरका लागि राष्ट्रिय मेलमिलाप आवश्यक छ, कांग्रेसले अग्रसरता लिनुपर्छ।’ उनले भने ।

२०३३ सालमा बीपी र गणेशमान मेलमिलापको नीति लिएर नेपाल फर्किएको प्रसंग स्मरण गर्दै देउवाले त्यो निक्कै चुनौतीपूर्ण र कष्टकर क्षण रहेको बताए । ‘भारतमा रहेका उहाँहरूलाई नेपालको सीमा क्षेत्रमा पनि आउन दिएका थिएनन्। त्यसकारण नेपालमै फर्किन उहाँहरूले जोड गर्नुभएको थियो। ठूलो खतरा र चुनौती राखेर उहाँहरू नेपाल फर्किएको हो ’ देउवाले भने ।

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि ८ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्किएको सम्झनामा आज मेलमिलाप दिवस मनाइँदैछ ।

विसं २०३३ पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेतासमेत रहेका कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, खुमबहादुर खड्का, रामबाबु प्रसाईं, नीलाम्बर पन्थीलगायत नेताकार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ करिब आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी स्वदेश फर्किएका थिए ।



प्रतिक्रिया दिनुहोस्