Logo

पार्टी त केपी ओलीले जसरी चलाउने हो, कांग्रेस अनुशासनविहीन र कमजोर भयोः डा.नारायण खड्का (भिडिओसहित)



काठमाडौं, १६ पुस । नेपाली कांग्रेसका नेता एवं पूर्व परराष्ट्रमन्त्री डा.नारायण खड्काले पार्टी आन्तरिक र संगठनात्मक रुपमा कमजोर भएको बताएका छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले गुट, उपगुट, निर्वाचित सभापतिलाई नमान्ने अराजक प्रवृत्ति, ६०/४० प्रतिशतको भागबण्डा, निर्णय नमान्ने प्रवृत्तिले पार्टी कमजोर भएको बताएका हुन् । उनले प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको पार्टी सञ्चालन गर्ने परिपाटीको प्रशंसा गरे । उनले अनुशासनविना पार्टी नचल्ने बताए ।

‘हाम्रो पार्टी आन्तरिक रुपमा, संगठनात्मक रुपमा कमजोर भयो । गुट उपगुट, ४० प्रतिशत शेयर अरे, पार्टी सभापति जो निर्वाचित भएको छ, उसलाई नमान्ने, गरेका निर्णयहरुमा अर्को खालको निर्णय गर्दिने, हामी मान्दैनौं भनिदिने । पार्टी भनेको त वास्तवमा भन्नुहुन्छ भने हाम्रो अहिलेका प्रधानमन्त्री केपी ओलीजीले जसरी चलाउनु भएको छ, पार्टी भनेको त्यसरी चलाउने हो । अनुशासन विना कुनैपनि पार्टी चल्दै चल्दैन । हामीकोमा अनुशासनको नाममा अराजकता छ,’– उनले भने ।

शेरबहादुर देउवाजस्तो सिनियर नेता नेपालमा कोहीपनि नरहेको उनले बताए । देउवालाई पूर्व प्रधानमन्त्री र प्रधानमन्त्रीहरुलेसमेत धेरै सम्मान गर्ने गरेको बताउँदै उनले पार्टीभित्र उनको सम्मान नभएको बताए । उनले देउवाले पार्टीलाई कमाण्ड गर्न नसकेको हो कि जस्तो देखिएको पनि बताए । देउवाको पालापछि कांग्रेसमा झनै गुट हाबी हुने उनको भनाइ छ । उनले भने, ‘उहाँ निर्वाचित पार्टी सभापति हो, उहाँले जुन तरिकाले कमाण्डको रुपमा पार्टी चलाउनुपर्थ्यो, गुटको राजनीति अन्त्य गर्न सकिएन । शेरबहादुर देउवा सभापतिबाट हटिसकेपछि यो झन विकराल हुन्छ ।’ File Photo/RN



प्रतिक्रिया दिनुहोस्