काठमाडौं, १६ पुस । नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले अहिले सरकारको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरेपनि नीतिगत नेतृत्व कांग्रेसले गरिरहेको बताएका छन् । आज (मंगलबार) राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा काठमाडौंको क्षेत्रपार्टीमा पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आम नेपाली जनतालाई अगाडि बढाउने नीतिगत नेतृत्व कांग्रेसले गरिरहेको बताएका हुन् ।
‘अहिले हामी संयुक्त सरकारमा छौं । प्रधानमन्त्री केपी ओलीजी हुनुहुन्छ । तथापी हामी गर्वका साथ भन्छौं– नीतिगत नेतृत्व नेपाली कांग्रेस पार्टीले गरिरहेको छ । राज्य सञ्चालनको नेतृत्व प्रधानमन्त्रीले गर्नुभएको होला । तर, आम नेपाली जनतालाई अगाडि बढाउने नीतिगत नेतृत्व कांग्रेसले गरिरहेको छ,’– उनले भने ।
नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सात बुँदे सहमति भएर गत असार १७ गते गठबन्धन बनेको थियो । कांग्रेस–एमालेसहितको गठबन्धन सरकार बनेको ५ महिना पूरा भएपनि सरकारले देश र जनताको पक्षमा काम गर्न नसकेको भनी आलोचना भइरहेको छ । कांग्रेस–एमालेबीच खटपटसमेत सुरु भएको चर्चा सुरु हुन थालेको छ ।