काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वीपी कोइरालालाई बुझ्न ढिलाई गर्दा १० वर्षे सशस्य द्धन्द्ध भएको जिकिर गरेका छन् । मंगलबार पूर्व कर्मचारी समाज नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
कार्यकममा बोल्दै सांसदसमेत रहेका शर्माले नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीले जुन कालखण्डमा वीपीलाई बुझेका थिए । सोही समयमा प्रचण्डले वीपीलाई बुझ्न नसक्दा मुलुक हिंसात्मक द्धन्द्धमा धकेलिएको र हजारौले ज्यान गुमाएको टिप्पणी गरे । ‘मदन भण्डारीले जुन कालखण्डमा वीपीलाई बुझ्नुभयो, त्यही कालखण्डमा प्रचण्डले बुझ्नुभएको भए १० वर्षे हिंसात्मक द्वन्द्व हुँदैन थियो । यतिधेरै मान्छे मारिनु पर्दैन थियो’ उनले भने ।
कांग्रेसकै कतिपय नेताहरुले चोकमा बसेर पार्टी माओवादीको पछाडि लागेको भनेर भनिराखेको प्रसंग उल्लेख गर्दै शर्माले त्यो गलत भएको दाबी गरे।
‘हामी माओवादीको पछि लागेको भए त शान्ति प्रक्रिया छोडेर, शान्तिपूर्ण राजनीति छोडेर हिंसात्मक विद्रोहमा हामी माओवादीसँग जानुपर्दथ्यो,’ उनले भने, ‘माओवादी हाम्रो पछि लागेको कारणले रोल्पाको डाँडोमा पड्काउँदै गरेको बन्दुक क्यान्टोनमेन्टमा थन्काएर, जनताको अगाडि आएर हात जोडेर तिमीले जिते तिम्रो सत्ता, हामीले जिते हाम्रो सत्ता भन्ने पद्धतिमा आयो।’
विपी कोइरालाको मेलमिलाप नीतिअनुरुप अबको मेलमिलापको बहस पाँच वर्षसम्म स्थिरत रहने प्रधानमन्त्रीको विषय हुनुपर्ने बताए । राणा कालको अन्त्य भइसकेपछि कुनैपनि प्रधानमन्त्रीले आफ्नो पूरै कार्यकाल पूरा गर्न नपाएको उनले बताए । चुनावमा पहिलो हुने दलले मात्रै सरकारको पाँच वर्ष शासन गर्नुपर्ने र पहिलो हुने दललाईमात्रै सरकारमा जाने अधिकार हुनुपर्ने उनले बताए । अब संविधान संशोधनको ढोको खोल्दै गर्दा उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने गरी संशोधन गरिनुपर्ने उनले बताए । विपीलाई प्रचण्डले प्रेरणाको स्रोत र जन नेता मदन भण्डारीले मनपर्ने नेताको रुपमा लिएको पनि महामन्त्री शर्माले सुनाए ।