Logo

रवि-छविसहित सबै प्रतिवादीको बयान सकियो, आजबाटै थुनछेक बहस सुरु



काठमाडौं, १६ पुस । सहकारी ठगी, संगठित अपराध र सम्पत्तिसुद्धीकरण मुद्दामा पक्राउ परेका रवि लामिछानेसहित सबै प्रतिवादीको बयान सकिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासमा प्रतिवादीहरुको बयान सकिएको हो । बयान सकिएसँग आजैबाट उनीहरुको थुनछेक बहस सुरु भएको छ ।

लामिछाने गोर्खा मिडिया प्रा.लि.को एमडी हुँदा कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारीबाट अवैधानिक रुपमा ल्याइएको पैसा खर्च गर्ने प्रक्रियामा संलग्नता देखिएको आरोपमा उनलाई पक्राउ गरिएको थियो । लामिछानेसँगै गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशी पनि पक्राउ गरेका थिए । उनको पनि बयान सकिएको छ । आज दिउँसो साढे १ बजेसम्ममा सबै प्रतिवादीहरुको बयान सकिएसँगै थुनछेक बहस सुरु भएको हो ।

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले लामिछानेसहित ५१ जनाविरुद्ध डेढ अर्बभन्दा बढी विगो माग दाबी गर्दै मुद्दा दायर गरेको थियो । लामिछाने गत कार्तिक २ गतेदेखि कास्की प्रहरीको हिरासतमा छन् ।

सो सहकारी ठगीका मुख्य नाइकेका रुपमा चिनिएका गोर्खा मिडियाका नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु राई भने हाल फरार छन् ।



प्रतिक्रिया दिनुहोस्