Logo

नेपाललाई बालविवाह मुक्त राष्ट्र बनाउने सङ्कल्पपत्रमा प्रधानमन्त्री ओलीले गरे हस्ताक्षर



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘बालविवाह मुक्त नेपाल राष्ट्रिय अभियान’ मा हस्ताक्षर गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा अभियानकर्मीहरुसँग आज भएको भेटमा उनले राष्ट्रिय बाल कल्याण परिषद्को अगुवाइमा आजदेखि आरम्भ भएको सो अभियानलाई शुभकामना दिँदै हस्ताक्षर गरेका हुन् ।

बालविवाह अपराध भएकाले यसविरुद्ध अभियान सञ्चालन गरी मुलुकलाई बालविवाह मुक्त राष्ट्र बनाउने सङ्कल्पपत्रमा प्रधानमन्त्री ओलीले हस्ताक्षर गरेको प्रधानमान्त्रीको सचिवालयले जनाएको छ । मुलुकी अपराध संहिता, २०७४ मा बालविवाहलाई दण्डनीय मानेको छ ।

त्यस अवसरमा पूर्वमहिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी, लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी, भारतको ‘जष्ट राइट्स फर चिल्ड्रेन’ का संस्थापक भुवन रिम्भु र अभियानमा संलग्न बालविवाहको सिकार भएकाहरुको उपस्थिति थियो ।



प्रतिक्रिया दिनुहोस्