काठमाडौं, १६ पुस । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई प्रधानमन्त्री हुनुमा भन्दा विपक्षी दलको नेता भएर जनतामा जानुमा गर्व महसुस भएको बताएका छन् । आज (मंगलबार) चितवनको मेगौलीमा आयोजित भरतपुर भ्रमण वर्ष २०२४ को वार्षिक उत्सव तथा राष्ट्रिय रैथाने खाना महोत्सव–२०८१ लाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री हुँदाभन्दा बढी माया र सम्मान विपक्षी दलको नेता भएर अहिले जनतामा जाँदा पाइरहेको बताएका हुन् ।
‘मलाई यो पटक प्रधानमन्त्री हुनुमा भन्दा विपक्षी दलको नेता भएर जनतामा जानुमा गर्व महशुस भएको छ । जनताले मलाई प्रधानमन्त्री भएको बेलामा भन्दा बढी माया र सम्मान दिनुभएको छ,’– उनले भने ।
आफू नेतृत्वको तत्कालीन सरकारले सुरु गरेको भ्रष्टाचार विरोधी अभियान मन नपरेकै कारण सरकार ढालिएको उनले बताए । आफूले सुशासन, सामाजिक न्याय र अन्तर्राष्ट्रिय छवि उज्वल बनाउने प्रयत्न गरेको उनले सुनाए ।
‘एकथरी मान्छेहरुलाई सुशासनको अभियान मन परेन । सामाजिक न्यायको अभियान मन परेन । अन्तर्राष्ट्रिय रुपमा नेपालको छवि उज्वल बनाउन खेलेको भूमिका मन परेन र म अहिले जनताको बीचमा छु । म खुसी नै छु । मैले फेरि एउटा सपना बोकेर देशमा स्थिरता, विकास र समृद्धिको नयाँ अभियान चलाउने सपना बोकेर म कुदिरहेकै छु,’– उनले भने ।