Logo

संसद्मा विचाराधीन विधेयक अगाडि बढाउन एमालेले तोक्यो फोकल पर्सन, कांग्रेस पनि छलफलमा



काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले संसद्मा विचाराधीन विधेयक अगाडि बढाउन आफ्नो दलबाट ५ जनालाई फोकल पर्सन तोकेको छ । मंगलबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा मूख्य सचेतक महेश बर्तौलासहित बसेको बैठकले ५ जना सांसदलाई फोकल पर्सन तोकेको हो ।

फोकल पर्सनको जिम्मेवारी पाउनेमा सचिवद्धय छविलाल विश्वकर्मा र गोकर्ण विष्ट तथा सांसदहरु सूर्य थापा, रघुजी पन्त र नैनकला थापा मगर छन् ।

संघीय निजामती सेवा विधेयक, अख्तियार ऐन संशोधन विधेयक, भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक र निर्माणमुखि सामग्री विधेयक विचाराधीन रहेको राज्य व्यवस्था समितिमा समन्वय गर्ने जिम्मा पन्तले पाएका छन् ।

बैंक तथा वित्तीय संस्था विधेयक, सुरक्षित कारोबार ऐन संशोधन विधेयक, धितोपत्र ऐन संशोधन विधेयक, आर्थिक कार्यविधि ऐन संशोधन विधेयक र भन्सार विधेयक दफावार छलफलमा रहेको अर्थ समितिको जिम्मा सूर्य थापाले पाएका छन् ।

पूर्वाधार विकास समितिमा गोर्कण विष्ट हुँदा नैनकलाले कानुन न्याय तथा मानव अधिकार समितिको जिम्मा पाएकी छन् । नैनकला उपाध्यक्ष रामबहादुर थापा बादलकी पत्नी हुन् । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको जिम्मा सचिव छविलाल विश्वकर्माले पाएका छन् ।

एमालेले जस्तै सत्तारुढ दल नेपाली कांग्रेसले पनि आज फोकल पर्सन तोक्ने तयारी गरेको छ । त्यसका लागि बिहान ११ बजेबाट सांसदहरुसँग छलफल हुने कांग्रेसले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्