Logo

सरकारलाई माओवादी सचिवको चुनौतिः क्यान्टोनमेन्टमा घोटला भएको हो भने बाहिर ल्याएर देखाउनुस्



काठमाडौं, १७ पुस । नेकपा (माओवादी केन्द्र) का सचिव एवं पूर्वमन्त्री देवेन्द्र पौडेलले क्यान्टोनमेन्ट घोटला बाहिर ल्याउन चुनौति दिएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले माओवादीले क्यान्टोनमेन्टमा घोटला गरेको थियो भनेर प्रमाणित गरेर देखाउन चुनौति दिएका हुन् ।

विशेषगरी सत्तारुढ दल एमालेका नेताहरुले माओवादी लडाकु शिविरमा भ्रष्टाचार भएको र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रत्यक्ष संलग्नता रहेको आरोप लगाउँदै आएका छन् । उक्त आरोपको खण्डण गर्दै नेता पौडेललले प्रमाणित गरेर देखाउन चुनौति दिएका हुन् ।

‘धेरै पटक भन्नुभयो त्यो कुरा उहाँले । फरफारक गरेर ल्याएको छैन र ? प्रमाणित गरुन् न, म चुनौति दिन चाहन्छु । प्रमाणित गर्नुपर्यो नि त, भनेकोभन्यै हुनुहुन्छ उहाँले, कहिल्यै ल्याउन सक्नुहुन्न । भए त ल्याइसक्नुहुन्थ्यो उहाँहरुले, नपाएर हो, फरफारक भइसकेको छ शान्ति मन्त्रालय हुँदै । क्याम्प बनेको थियो, सम्पूर्ण क्याम्पहरु नेपाल सरकारले लियो । निर्णय गरेर व्यक्तिलाई दिइएको रकम व्यक्तिले लिए । अनि कहाँ भ्रष्टाचार भयो ?’ प्रश्न गर्दै उनले भने ।

विस्तृत शान्ति सम्झौतापछि राष्ट्रसंघीय निकायको रोहबरमा तत्कालीन माओवादीका लडाकुहरु र हातहतियारहरु क्यान्टोनमेन्ट मा राखिएको थियो । सरकारले क्यान्टोनमेन्टमा रहन्दा प्रत्येक लडाकुलाई भरणपोषणवापत प्रतिव्यक्ति ६ हजार ५ सय रुपैयाँ उपलब्ध गराएको थियो । उक्त रकममा हिनामिना गरेको माओवादी नेतृत्वमाथि आरोप लाग्ने गरेको छ । राष्ट्रसंघीय निकाय अनमिनले प्रमाणीकरण गरेको भन्दा २ हजार ३ सय ९४ बढी लडाकुको नाममा माओवादीले राज्यकोषबाट रकम बुझेको बताईन्छ । तर, माओवादीले भने यस आरोपलाई खण्डण गर्दै आइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्