Logo

रवि लामिछाने सार्वजनिक पद धारण गरेका व्यक्ति हुन्, उनलाई झन बढी सजाय हुनुपर्छः वरिष्ठ अधिवक्ता त्रिपाठी (भिडिओसहित)



काठमाडौं, १७ पुस । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सहकारी ठगी, संगठित अपराध र सम्पत्तिसुद्धीकरण मुद्दामा थुनामा रहेका रवि लामिछानेमाथि अरुलाई भन्दा बढी कारबाही हुनुपर्ने बताएका छन् । आज (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले लामिछाने सार्वजनिक पद धारण गरेका व्यक्ति पनि भएकाले उनलाई अरुको भन्दा बढी सजाय हुनुपर्ने बताएका हुन् ।

‘उनी सार्वजनिक पद धारण गरेका व्यक्ति हुन्, उनको जवाफदेहिता अझ बढी हुन्छ । उनको कसुरको मात्रा अझ बढी हुन्छ । सार्वजनिक पद धारण गरेको व्यक्ति, उसको त पब्लिक एकाउटिविलिटी पनि छ । यो प्रतिशोधनवाला न्यारेसन प्रोपोगाण्डा गर्न खोजियो । उहाँ थुनामा बसेर त यत्रो अदालत घेराउ गराउनुहुन्छ, न्यायाधीशलाई टार्गेट गाउनुहुन्छ, चिनिराख यो न्यायाधीशलाई भन्नुहुन्छ । सडकमा महिनौं महिनासम्म हल्ला गराउनुभयो, एयरपोर्ट घेराउ गराउनुभयो भने न्यायिक प्रक्रियालाई पनि सहयोग गरेको देखिएन । संगठित रुपमा न्यायिक प्रक्रियालाई प्रभावित गर्ने पनि प्रयास भयो,’– उनले भने ।

साथै, नेपालमा व्यापारीसँग भन्दा पनि नेताहरुसँग बढी पैसा रहेको वरिष्ठ अधिवक्ता त्रिपाठीको दाबी छ । उनले नेताहरुको सहकारीमा पनि लगानी र संलग्नता रहेको बताउँदै सबैमाथि छानविन हुनुपर्ने बताए । सबैमाथि छानविन गरेर दोषीलाई अनिवार्य रुपमा दण्डित गरिनुपर्ने उनले बताए ।

‘आज व्यापारीभन्दा पनि बढी पैसा नेताहरुसँग छ । नेपाल असफल राज्य कसरी पनि हो भने जुन देशमा व्यापारीभन्दा पनि बढी पैसा नेताहरुसँग हुन्छ, घुस खाएको पैसा उनीहरुले राखेका छन् । यो सहकारीमा पनि ठूलो संख्यामा नेताहरु छन् । तिनीहरुलाई पनि अनिर्वाय रुपमा दण्डित गर्नुपर्छ । उनीहरुलाई अनिवार्य रुपमा कारबाहीको दायरामा ल्याइनुपर्छ । खाली रवि लामिछानेमा मात्रै रोकिन हुँदैन,’– उनले भने ।

उनले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङमाथि पनि गम्भीर छानविन हुनुपर्ने र कानुनको दायरामा ल्याइनुपर्ने बताए । वरिष्ठ अधिवक्ता त्रिपाठीले कोही पनि व्यक्तिलाई उन्मुक्ति दिन नपाइने बताए । समान कसुरमा संलग्न भएकालाई समान रुपमा कानुनको दायरामा ल्याउनुपर्ने उनले बताए । रवि लामिछानेको मानव अधिकारको बारेमा कुरा गरिँदै गर्दा औषधि नपाएर मृत्युवरण गरेका र आत्महत्या गर्न बाध्य भएकाहरुको बारेमा कसैले चिन्ता व्यक्त नगरेको, पीडितको पक्षमा संवेदनासमेत व्यक्त नभएको उनले बताए । नेपाली समाज पीडकमुखी मनोविज्ञामा गुज्रिएको उनको भनाइ छ । केही मानिसहरुले लामिछानेलाई सिनेमाको स्टारजस्तो बनाएरउनले अपराध गरेपनि छुट पाउनुपर्छ भन्ने मनोविज्ञान निर्माण गरेको वरिष्ठ अधिवक्ता त्रिपाठीले बताए । पीडकलाई दण्डित र बहिष्कार गर्ने सामाजिक मनोविज्ञा निर्माण गर्नुपर्ने बताए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्