काठमाडौं, १७ पुस । नेपाली कांग्रेसका नेता प्रकाश रसाईली ‘स्नेही’ ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकी श्रीमती निकिता पौडेलको सम्पत्ति सुद्धीकरण प्रकरणमा संलग्नता रहेको बताएका छन् । आज (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले निकितालाई सरकारका निकायहरुले अनुसन्धानमा नबोलाएको, अनुसन्धानमा नतानेको विषयलाई मिडियाले बाहिर ल्याउन नचाहेको बताएका हुन् ।
‘मनी लाउन्डिङमा रवि लामिछानेको श्रीमतीको पनि संलग्नता छ । सरकारले थुनेन, किन बोलाएन भनेर तपाईँहरुले भन्नुभयो ? उहाँलाई काठमाडौं महानगरले कारबाही गर्न भनेको छ,’– उनले भने ।
साथै, उनले सामाजिक सञ्जालमा सहकारी ठगीमा जोडिएका केही मानिसहरुलाई नक्कली कांग्रेसी बनाएर कांग्रेसको बदनाम गराउन खोजेको बताए । उनले भने, ‘कांग्रेसका नेताहरुले यती–यती सहकारी ठगे भनेर लिस्ट देख्नुभएको छैन ? कांग्रेसको सदस्य नै नभएको मान्छेलाई पनि कांग्रेस बनाएर बदनाम गराउने काम भएको छ ।’
सहकारी ठगीमा धनराज गुरुङ, ऋषिकेश पोखरेलको कहीँ कतै संलग्नता नरहेको उनको दाबी छ । उनले व्यक्तिले गरेको अपराधलाई पारिवारिक रुपमा ड्राइभर्ट गर्न नपाइने बताए ।