Logo

अध्यादेशमार्फत् संवैधानिक निकायमा नियुक्त ५२ जनाको नियुक्तिविरुद्धको सुनुवाइ सरेको सर्‍यै, आज पनि सर्वोच्चले भ्याएन हेर्न



काठमाडौं । अध्यादेशमार्फत् संवैधानिक निकायमा गरिएको ५२ जनाको नियुक्तिविरुद्धको रिट बुधबार पनि हेर्न नभ्याईनेमा परेको छ ।

अध्यादेशमार्फत संवैधानिक निकायमा गरिएको ५२ जनाको नियुक्तिविरुद्धको रिटको सुनुवाइका लागि बुधबार सर्वोच्चको संवैधानिक इजलासमा पेसी तोकिएको थियो । तर, समय अभावका कारण हेर्न नभ्याईनेमा परेको हो ।

२०७७ मङ्सिर १ गते सर्वोच्च अदालतमा दर्ता भएको उक्त रिटको सुनुवाइका लागि प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीशहरु हरि फुयाल, मनोजकुमार शर्मा र नहकुल सुवेदी सम्मिलित संवैधानिक इजलास गठन गरिएको थियो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी ऐनमा अध्यादेशमार्फत संशोधन गरी विभिन्न संवैधानिक निकायमा ५२ जना पदाधिकारी तथा सदस्यहरूलाई नियुक्त गरेका थिए। उक्त नियुक्ति बदरको माग गर्दै अधिवक्ता ओमप्रकाश अर्याल, वरिष्ठ अधिवक्ता डा। दिनेश त्रिपाठी लगायतले सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए।

यसअघि पनि पटक पटक सो रिट पेशीमा परेपनि विभिन्न कारणले हेर्न नमिल्ने र हेर्न नभ्याईमा पर्दै आएको थियो । ५२ जना नियुक्त् भएकामध्ये कतिपय उमेरहदका कारण अनिर्वाय अवकासमा गइसकेका छन् भने केही अवकासको मुखमा छन् ।

यसअघि २०७८ चैत ९ गते कारण देखाऊ आदेश जारी भएको थियो भने २०७९ असार ८ गतेको आदेशमा सबै मुद्दालाई लगाउमा राख्ने र सबै विपक्षीलाई जानकारी दिने आदेश भएको थियो ।

त्यसैगरी २०७९ साउन ११ गतेको पेसीमा म्याद बुझाउन नसकिएका पदाधिकारीलाई म्याद बुझाउने आदेश भएको थियो भने त्यसपछि लगातार हेर्न नभ्याउने र नमिल्ने हुँदै सर्दै आएको छ।

मुद्दामा संवैधानिक नियुक्ति लिएका ५२ जना, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संवैधानिक परिषद्का सदस्य आदिलाई विपक्षी बनाइएको छ । अध्यादेशमार्फत नियुक्ति पाएका समावेशी आयोगका अध्यक्ष डा रामकृष्ण तिमल्सिना र महिला आयोगकी सदस्य जया घिमिरेले उमेर हदका कारण अनिर्वाय अवकास पाईसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्