Logo

ओलीलाई रावलको प्रश्नैप्रश्नः घर-घरमा खाना पकाउने ग्यासको पाइप खै ?



काठमाडौं, १७ पुस । नेकपा (एमाले) बाट निष्काशित डा.भीम रावलले महाधिवेशनमा केपी ओलीसँग प्रतिस्पर्धा गरेकै कारण निष्काशित हुनुपरेको बताएका छन् । आज (बुधबार) पत्रकार सम्मेलन आयोजना गरी उनले आफ्नो पार्टीमा रहेको लामो योगदानको समेत अबमूल्यान हुनेगरी ओलीले राजनीतिक जीवनमा समाप्त गरिदिन खोजेको आरोप लगाए ।

साथै, ओली गुटले आफूनिकट महाधिवेशन प्रतिनिधिहरुलाई धम्क्याएको, मतदान नगर्न दवाब दिएको समेत रावलले आरोप लगाए । उनले महाधिवेशनमा प्रयोग गरिएको विद्युतीय मेसिनको विश्वसनीयतामाथि समेत प्रश्न उठाए । उनले एमालेले आफूलाई सोधेको स्पष्टीकरण पनि विधिसम्मत नभएको कारण जवाफ नदिएको बताए ।

नेता रावलले ओलीले भ्रष्ट, दलाल र अनैतिकहरूसँग साँठगाँठ गरी देशमा सुशासन र समाजवाद ल्याउने कुरा गरेको टिप्पणी गरे । ओलीका यस्ता कुरा कसैले पनि पत्याउन नहुने उनको भनाइ छ । नेता रावलले ओलीको शत्रुतापूर्ण व्यवहार जनताको बहुदलीय जनवादविरुद्ध रहेको बताए ।

साथै, उनले ओलीको निर्देशनमा महाधिवेशनको बेला केही केटाहरूलाई रक्सी खु्वाएर लगाएर आफू बसेको होटलमा नाराबाजी गर्न लगाइएको बताए । ‘म बसेको होटल बाहिर रक्सी खुवाएर केटाहरूलाई नाराबाजी गर्न लगाइयो । मेरो आग्रहमा सशस्त्र प्रहरीको टोलीले त्यहाँबाट धपायो,’– नेता रावलले भने ।

ओलीले संविधानको मार्गनिर्देशन, पार्टीको घोषित नीतिका विरुद्धमा काम गरेको रावलको आरोप छ । ओलीले जनतासमक्षा गरेका कुनैपनि प्रतिवद्धता पूरा गर्न नसकेको उनको भनाइ छ । ओलीले घर–घरमा खाना पकाउने ग्यासको पाईप, अन्तरिक्षमा आफ्नै जहाज, मनोरेललगायतका मनमौजी आश्वासन बाँडेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्