Logo

ओलीविरुद्ध खनिए रावलः नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई बचाउन हारगुहार गरेको आरोप



काठमाडौं, १७ पुस । नेकपा (एमाले) बाट निष्काशित डा. भीम रावलले केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई बचाउन हारगुहार गरेको आरोप लगाएका छन् । आज (बुधबार) आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता रावलले पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री रहेको बेलामा ओलीले एमाले सचिव टोपबहादुर रायमाझीलाई बचाउन हारगुहार गरेको आरोप लगाएका हुन् ।

‘२०८० साल वैशाख २० गते सिंहदरबारमा तपाईँले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी गरिएका एमाले सचिव तथा प्रतिनिधि सभा सदस्यलाई गिरफ्ता नगर्न गरिएको आग्रह र निजलाई गिरफ्तार गर्ने कुरा षड्यन्त्रपूर्ण छ भनी सार्वजनिक रुपमा भनेको कुराले के संकेत गर्छ ?’ प्रश्न गर्दै उनले भने ।

साथै, उनले ओली आफूलाई नक्कली भुटानी शरणार्थी प्रकरणबारे लामो समयदेखि जानकारी रहेको अभिव्यक्ति दिएपनि आफू सत्तामा आउँदा कारबाही नगरेको बताए । नेता रावलले नाम छुटेको भनि पछि सिफारिस गरिएका भुटानी शरणार्थीको बारेमा पनि ओलीप्रति आशंका व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्