Logo

‘एमालेको रंग खुइलिएर बामालेमा परिणत भएको छ भन्नुपर्दा अत्यन्त दुःख लाग्छ’



काठमाडौं, १७ पुस । नेकपा (एमाले) बाट निष्काशित नेता डा.भीम रावलले एमाले खुइलिएर बामालेमा परिणत भएको टिप्पणी गरेका छन् । आज (बुधबार) आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले ओली गुटले एमालेलाई दिशाहीन बनाउनुका साथै राष्ट्रिय राजनीति नै सिद्धान्तहीन, गन्तव्यहीन र आदर्शहीन बाटोमा धकेलेको आरोप लगाएका छन् ।

ओलीले आफ्नै घोषित सिद्धान्त, नीति र लक्ष्यका साथै नेपालको संविधानको मार्ग निर्देशनलाई समेत अवमूल्यन गरेको नेता रावलको आरोप छ । ‘एमालेको रंग खुइलिएर बामाले (बाको मात्र नाम लेउ) मा परिणत भएको छ भन्नु पर्दा अत्यन्त दुःख लाग्छ,’– उनले भने ।

देशको स्वाधीनता, स्वाभिमान, हितको रक्षा र सम्बर्धन तथा जनताका आवश्यकता र आकांक्षा पूरा गर्ने बाटोमा राज्यलाई डोयाउनको लागि देशभक्तिपूर्ण भावना र चेतले युक्त जनमत र सरकारको आवश्यकता रहेको उनको भनाइ छ । देश बलियो भने जनता बलिया हुन्छन्, जनता समृद्ध भए देश बलियो हुन्छ मान्यतालाई बलियो गरी समात्नु आवश्यक छ ।

राजनीति, दल, विचार र संगठन देश र जनताको सेवा एवं हितको लागि हो भन्ने मान्यतालाई स्थापित गर्न मातृभूमि जागरण अभियान सञ्चालन गर्ने उनले उद्घोष गरेका छन् । उनले देश र जनताको हक र हितका लागि सबै देशभक्त इमान्दार शक्ति, व्यक्ति र समुदायलाई एकताबद्ध गर्ने पनि बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्