काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले संगठित सदस्यता खोसेपछि आगामी राजनीतिक यात्राबारे जानकारी दिन पूर्व उपप्रधान तथा रक्षामन्त्री डा भीम रावलले बुधबार पत्रकार सम्मेलनको आयोजना गरे ।
काठमाडौंको बबरमहलस्थित कार्की ब्यंक्विटमा आयोजित पत्रकार सम्मेलन झण्डै साढे २ घण्टा समय खर्चिए । साढे २ घण्टा समय खर्चिएका रावलले कम्युनिष्ट पार्टीमा ५१ वर्ष लामो योगदान र एमाले नेतृत्वले गरेको कारबाहीबारे चर्चा गरे । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि व्यंग्य गर्दै कविता वाचन गरि सुरु गरेका राववले सुरुआतमा कविता मार्फत ओलीमाथि व्यंग्य कसेका थिए ।
एमालेबाट निश्काषनमा परेपछि पहिलोपटक पत्रकार सम्मेलन गर्दै रावलले देश र जनताको अवस्था दयनीय बनाईएकोमात्र टिप्पणी गरेनन सत्ताको बागडोर लिएकाहरुले भ्रष्टाचारलाई प्रशय दिइरहेको समेत आरोप लगाए ।
प्रधानमन्त्री अोली सत्ताको दुरुपयोग गरेर तानाशाह बन्न खोजेको आरोप लगाउँदै बोल्न थालेका रावलले आफूले पाँच दशकसम्म काम गरेको एमालेमा केपी ओलीबाट भएको क्रियाकलापको विरोध गरेको स्मरण गर्दै देश र जनताको सर्वोपरि हितको लागि आफू वैकल्पिक बाटो हिँड्न बाध्य भएको सुनाए ।
उनले एमालेमा विभाजन गर्न खोज्नेहरुलाई मात्रै ओलीले अवसर दिएको तर पार्टी बनाउनेहरुलाई सदस्यबाट निकाल्ने काम गरेको भन्दै आक्रोश पोखे । उनले आफूलाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय केपी ओलीले आफूप्रति गरेको चरम प्रतिशोध भएको जिकिर गरे ।
पत्रकार सम्मेलनमा रावलले एमाले अध्यक्ष ओलीमाथि प्रश्नको वर्ष गरेका थिए । उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफू नजिकका नेताहरु जोगाउन तत्कालीन सरकारसँग हारगुहार गरेको आरोप लगाए । ‘तपाईंकै प्रधानमन्त्री कालमा गृहमन्त्रीका छोरा र सुरक्षा सल्लाहकार समेतले ठूलो रकम असुलेर नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई ठगी गरेको होईन ररु तपाईं नै प्रधानमन्त्री भएको बेला २०७६ साल असार २९ गते पुनः प्रतिवेदन तयार गर्न कार्यदल बनी त्यसैबेला कार्यदलको कार्यदेश गिरोहको हातमा पुगेको तथा कथित नाम छुटेका ८७५ जनालाई फर्म भर्न लगाई प्रत्येकबाट १० देखि १५ लाख रुपैयाँ उठाईएको समाचारबारे तपाईंको भनाई के हो ? छुटेका शरणार्थीको नाममा नेपालीको नाम राखेर ठग्ने योजना बनेको थियो भन्ने समाचारबारे तपाईंको भनाई के छ ’उनले पत्रकार सम्मेलनमा भने ।
पत्रकार सम्मेलनमा रावलले एमाले रंग खुईलिएर बामाले भएको दाबी पनि गरे । उनले एमालेको अहिलेको अवस्था देख्दा आफूलाई दया लागेर आउने बताउँदै भने ‘एमालेको रंग खुइलिएर बामाले (बाको मात्र नाम लेउ) मा परिणत भएको छ भन्नु पर्दा अत्यन्त दुःख लाग्छ,’ ।
रावलले बालुवाटार जग्गा प्रकरणमा मुछिएका विष्णु पौडेलका छोरा नविन पौडेल र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीलाई केपी शर्मा ओलीको इसारामा उन्मुक्ति दिइएको आरोप लगाए । (ललिता निवासको जग्गा एमाले उपाध्यक्ष विष्णु पौडेलका छोरा नविन र न्यायाधीश रेग्मीले किनेका थिए । तर, उनीहरुले पछि सो जग्गा फिर्ता गरेका थिए । जग्गा फिर्ता गरेपछि पौडेल र रेग्मीलाई मुद्दा चलाईएको थिएन । )
‘ललिता निवास जग्गा प्रकरणमा विष्णुप्रसाद पौडेलका छोरा नविन पौडेल र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीले अनियमित किसिमले प्राप्त गरेको जग्गा सरकारलाई फिर्ता गर्न मञ्जुर गरेकोले अख्यितार दुरुपयोग अनुसन्धान आयोगले निजहरुको नाममा मुद्दा दायर गर्न नमिल्ने भनी गरेको फैसला तपाईँकै इसारामा भएको होईन र ’ रावलले भने ।
उनले ओलीलाई ‘कसैले चोरी गरेको सामान फिर्ता गर्छु भन्दैमा निजलाई दण्ड सजाय नगर्ने कानुन छ र ?’ भन्दै प्रश्नसमेत गरे । ओली अघिल्लो पटक प्रधानमन्त्री भएको बेलामा जन्मदिन मनाउन ४ ओटा हेलिकोप्टर प्रयोग गरी विराटनगरमा तयारी खाना गृहजिल्लामा ओसार्न लगाएको, नेपालको नक्साको केक बनाएर कोटेर नव सामन्तको घोतक बनेको रावलको आरोप छ ।
रावलले चितवनमा भएको एमालेको १०औं महाधिवेशनमा आफूलाई षड्यन्त्र गरेर हराएको दाबी गरे । उनले सौरहकामा सम्पन्न महाधिवेशनमा ओली गुटले आफूनिकट महाधिवेशन प्रतिनिधिहरुलाई धम्क्याएको, मतदान नगर्न दवाब दिएको समेत रावलले आरोप लगाए । उनले महाधिवेशनमा प्रयोग गरिएको विद्युतीय मेसिनको विश्वसनीयतामाथि समेत प्रश्न उठाए । उनले एमालेले आफूलाई सोधेको स्पष्टीकरण पनि विधिसम्मत नभएको कारण जवाफ नदिएको बताए ।
नेता रावलले ओलीले भ्रष्ट, दलाल र अनैतिकहरूसँग साँठगाँठ गरी देशमा सुशासन र समाजवाद ल्याउने कुरा गरेको टिप्पणी गरे । ओलीका यस्ता कुरा कसैले पनि पत्याउन नहुने उनको भनाइ छ । नेता रावलले ओलीको शत्रुतापूर्ण व्यवहार जनताको बहुदलीय जनवादविरुद्ध रहेको बताए ।
साथै, उनले ओलीको निर्देशनमा महाधिवेशनको बेला केही केटाहरूलाई रक्सी खु्वाएर लगाएर आफू बसेको होटलमा नाराबाजी गर्न लगाइएको बताए । ‘म बसेको होटल बाहिर रक्सी खुवाएर केटाहरूलाई नाराबाजी गर्न लगाइयो । मेरो आग्रहमा सशस्त्र प्रहरीको टोलीले त्यहाँबाट धपायो,’– नेता रावलले भने ।
ओलीले संविधानको मार्गनिर्देशन, पार्टीको घोषित नीतिका विरुद्धमा काम गरेको रावलको आरोप छ । ओलीले जनतासमक्षा गरेका कुनैपनि प्रतिवद्धता पूरा गर्न नसकेको उनको भनाइ छ । ओलीले घर–घरमा खाना पकाउने ग्यासको पाईप, अन्तरिक्षमा आफ्नै जहाज, मनोरेललगायतका मनमौजी आश्वासन बाँडेको उनले आरोप लगाए ।
रावलले सबै दलका इमान्दार नेता, सदस्य, निर्वाचित प्रतिनिधि, श्रमिक, जनता, प्रबुद्ध अगुवा व्यक्तिमा आह्वान गर्दै साथ दिन अपिल गरेका छन् । तर, पौने दुई घण्टा भन्दा बढी बोलिसक्दा पनि भावी योजना, बाटोबारे के गर्ने भनेर प्रष्ट कार्ययोजना ल्याएका छैनन् ।
उनले आफ्नो प्रेस वक्तव्यको ३१ पाना प्रधानमन्त्रीसमेत रहेका ओलीविरुद्ध आलोचना र प्रश्न गर्न खर्चिएका छन् । एक पानामा उनले आफ्नो भावी योजना प्रस्तुत गरेका छन् ।
नयाँ भिजन र पार्टी कस्तो हुन्छ भनेर रावलले अहिलेसम्म कुनै प्रष्ट कार्ययोजना ल्याएका छैनन् । यसअघि एमालेले अनुशासन उल्लंघन गरेको भन्दै सोधेको स्पष्टीकरणको जवाफ रावलले दिएका थिएनन् । तर, पार्टीबाट निष्काशनमा परेपछि रावलले पार्टी नेताको नाममा कुनै सम्बोधन नगरिएपछि स्पष्टीकरण नदिएको बताएका छन् ।
रावलले यसअघि एमालेबाट निस्कासनमा पर्नेवित्तिकै नयाँ पार्टी गठन गर्ने तयारी गरेका थिए । त्यसका लागि उनले केही प्रभावशाली नेताहरुसँग छलफल पनि गरेका थिए । सुदूरपश्चिममा राम्रो पकड बनाएका नेताद्धय कर्ण मल्ल र डा तारा जोशीसँग छलफल गरेका थिए । जोशी सुदूरपश्चिम प्रदेश सभाका स्वतन्त्र सांसद हुन् । डडेल्धुराका पूर्व एमाले जिल्ला अध्यक्ष रहेका जोशी एमाले विभाजनपछि एकीकृत समाजवादीमा गएका थिए । हाल उनी सो पार्टीमा पनि छैनन् । मल्ल भने नेपाली कांग्रेसबाट निस्कासित नेता हुन् । उनी हाल नेपाली कांग्रेस वीपीका उपसभापति हुन् ।
जोशी र मल्लसँग छलफलमा सँगै सहकार्य गर्नेबारे कुरा भएको थियो । त्यसपछि आजको पत्रकार सम्मेलनमा नयाँ पार्टीको घोषणा हुने बताईएको थियो । तर, आज भने रावलले तत्काल पार्टी घोषणा नगर्ने र देशभर जनजागरण अभियान सञ्चालन गर्ने बताएका छन् । मातृभूमि जागरण अभियान सञ्चालन गरेर देश र जनताको हक र हितका लागि सबै देशभक्त इमान्दार शक्ति, व्यक्ति र समुदायलाई एकताबद्ध गर्ने बताएका छन् ।
‘देश र जनताले भोगिरहेका समस्याहरूको समाधान र चुनौतीहरूको सामना गर्दै स्वाधीन, स्वतन्त्र र स्वाभिमानी नेपाललाई पुनर्जागरणको दिशामा अगाडि बढाउनुपर्छ । स्वदेश र प्रवासमा रहेका नेपालीहरूका आवाज, आकांक्षा र आवश्यकतालाई गहिरो गरी मनन र विश्लेषण गर्दै राज्य र राजनीतिलाई त्यसको सेवामा समर्पित गर्नुपर्छ’ उनले भनेका छन् ।
रावलले सार्वजनिक गरेको प्रेस नोटमा देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्तिको निर्माण अपरिहार्य बनेको उल्लेख छ । उनले आगामी राजनीतिक यात्राका लागि देशभरमा वैकल्पीक राजनीतिक शक्ति निर्माण गरेर अगाडि बढ्ने उल्लेख गरेका छन् ।
उनले भनेका छन् ‘विधि, पद्धति, प्रणाली र सुशासनको बाटोमा निस्वार्थरूपमा दृढताका साथ हिँड्नुपर्छ यस्ता मान्यताहरूको आधारमा देश र जनतासंग सम्बन्धित समग्र विचार, कार्यक्रम, नीति तय गर्दै देश र प्रवासमा अभियान सञ्चालन गर्दै देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्तिको निर्माण अपरिहार्य बनेको छ। यसैतर्फ हाम्रो पाइला र प्रयासहरू अगाडि बढ्ने छन्’ ।