Logo

सरकारतिर हाम्रो सरोकार छैन, व्यवस्था ढाल्ने खेलमा छौंः राप्रपा महामन्त्री जबरा (भिडिओसहित)



काठमाडौं, १८ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशमशेर जबराले देशको निकासको लागि आगामी फागुनमा आन्दोलनमा जाने तयारी रहेको बताएका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा उनले उक्त आन्दोलनका लागि सबै जनताको साथ र सहयोग चाहिएको बताए । देशको उन्नति र प्रगतिका लागि एकचोटी सबै जनाले सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

साथै, उनले वर्तमान संविधानले देशलाई असफल बनाएको टिप्पणी गरे । महामन्त्री जबराले देशको आमुल परिवर्तन आजको अवश्यकता भइसकेको बताए । ‘देशमा आमुल परिवर्तन आजको आवश्यकता हो, संविधान त कहाँ जाओस् । यो संविधानले देशलाई असफल बनाइसक्यो । नेपाली जनतालाई गरिब, दुःखी र विश्वको नोकर बनाइसक्यो । अहिले पनि यो संविधान सफल छ भन्नुहुन्छ ? यो संविधान र व्यवस्था पूर्ण रुपले असफल भइसक्यो । त्यो क्रममा आमुल परिवर्तन गर्नुपर्ने आवश्यकता छ,’– उनले भने ।

साथै, वर्तमान सत्ता गठबन्धन पनि पूर्ण रुपमा असफल भइसकेको उनको टिप्पणी छ । महामन्त्री जबराले दुई ठूला दल मिलेर सरकार बनाउँदा के–के न होला भनेर जनताले अपेक्षा गरेको भएपनि केही उपलब्धी हुन नसकेको बताए । उनले भने, ‘यो गठबन्धन पूर्ण रुपमा असफल भयो । दुई वटा ठूला पार्टी मिले, यो आफैंमा अनौठो कुरा थियो । दुईवटा ठूलो पार्टी मिलेर के–के न होला भनेर जनताले ठाने । त्यस्तो भएको छैन ।’

साथै, आफूहरुले वर्तमान सत्ता गठबन्धन ढाल्न नचाहेको उनको भनाइ छ । उनले सरकार ढाल्नेसँग आफूहरुको कुनै सरोकार नरहेको र बरु राप्रपा व्यवस्था ढाल्नेतिर अग्रसर रहेको बताए । ‘हामी सरकार ढाल्ने खेलमा छैनौं । हामी यो व्यवस्था ढाल्ने खेलमा छौं । सरकार ढाल्नेसित सरोकार छैन हामीलाई । हामीलाई यो व्यवस्था परिवर्तन गर्दै नेपाली जनतालाई भुमरीबाट मुक्ति गर्नका लागि हाम्रो सरोकार र ध्यान त्यता छ,’– उनले भने ।

त्यस्तै, अहिले देशमा भ्रष्टाचार बढिरहेको बताउँदै उनले भ्रष्टाचारविरोधी हुँ भन्नेहरुले सम्पत्ति छानविनको लागि खुल्ला हुनुपर्ने बताए । उनले केही वर्षअघिसम्म चप्पल लगाएर आएकाहरु अहिले तीन–तीन करोडको गाडी चढ्ने हैसियतमा पुगेको उनको भनाइ छ । सबैको सम्पत्ति छानविन हुने हो भने अहिलेको प्रतिनिधि सभानै खाली हुने सम्भावना देखा परेको उनको टिप्पणी छ ।

‘मैले यो कुरा सदनमा पनि बोल्दाखेरी, यसो सबैतिर हेर्दाखेरी सदन नै खाली हुन्छ कि जस्तो लाग्यो । तर, गर्नुपर्छ । हिम्मत छ भने, सबै भ्रष्टाचारविरोधी हुन् भने सबैको सम्पत्ति छानविन हुनुपर्छ । एउटा सामान्य कुरा भनौं न, अस्तीसम्म चप्पल लगाएर हिँड्ने, आज अढाइ करोड, तीन करोडको गाडीमा, दुई तीन वटा घर आज कहाँबाट आयो ? त्यो सदनको तलबले आउँछ ? धेरै पर जानुपर्दैन, हाम्रो सदन नै खाली हुने स्थिति छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्