काठमाडौं, १८ पुस । नेकपा (एमाले) कि नेतृ एवं संसदीय दलकी सचेतक सुनिता बरालले कम्युनिष्ट पार्टीमा बस्ने नैतिकता गुमाइसकेकै कारण भीम रावललाई कारबाही गरिएको बताएकी छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले रावल अनुशासनमा नबसेकै कारण उनलाई कारबाही गर्नुपरेको बताएकी हुन् । रावलले हिजो गरेको पत्रकार सम्मेलनले नै उनले नैतिक धराल गुमाइसकेका थिए भन्ने प्रष्टीकरण दिएको नेतृ बरालको भनाइ छ ।
‘संसारभरीका कम्युनिष्ट पार्टीहरुलाई हेर्ने हो भने कम्युनिष्टहरु अनुशासनको दायरामा बस्नुपर्छ भन्ने मान्यतामा रहेका हुन्छन् । उहाँले जसरी आज टिप्पणी गर्नुभएको छ, त्यो चाहीँ उहाँले कम्युनिष्ट पार्टीमा बस्ने नैतिकता गुमाइसक्नु भएको छ भन्ने कुरा उहाँ आफैंले प्रमाणित गर्नुभयो । समाजले या एमालेका शुभेच्छुकले कहीँ कतै भीम रावलप्रति सहानुभूति थियो भनेपनि उहाँले यो पार्टीमा बस्ने नैतिकता गुमाइसकेकै कारणले पार्टीले यो निर्णयमा पुग्नुपरेछ भन्ने कुरा उहाँ आफैंले प्रष्टीकरण दिनुभयो,’– उनले भनिन् ।
रावलले पत्रकार सम्मेलनका क्रममा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीमाथि असंख्य आरोप लगाएका थिए । ती आरोपहरुको जिम्मेवारी लिन डा.रावल पनि तयार हुनुपर्ने उनले बताईन् । नेतृ बरालले रावललाई पार्टीबाट कारबाही गरिएको ३÷४ दिनमा यी घटनाहरु भएको हो भने प्रधानमन्त्री ओलीसँग जवाफदेहिता खोजिनु स्वभाविक हुने र होईन भने उनले पनि आफ्नो भागको जिम्मेवारी लिनुपर्ने बताईन् । रावलले अघिल्लो कार्यकालमा एमालेको उपाध्यक्ष पदमा रहेको स्मरण गराउँदै उनले गलत तथ्यलाई ल्याएर प्रचार गरेको र संस्थागत निर्णयको विपक्षमा विचारहरु आएकै कारण उनललाई कारबाही गरिएको बताईन् ।
‘हिजो उहाँले फुर्सदमा नै पत्रकार सम्मेलन गर्नुभएको थियो, निकै लामो थियो भन्ने सुने मैले । उहाँलाई पार्टीबाट कारबाही गरिएको केही दिनमात्रै भयो । त्योभन्दा अघि उहाँ यो पार्टीको सदस्य हुनुहुन्थ्यो र करिब ३ वर्षअघि उहाँ यो पार्टीको उपाध्यक्ष हुनुहुन्थ्यो । केपी अोलीलाई लगाइएका सबै आरोपहरु २÷४ दिनभित्रका हुन् भने हामीले जिम्मा लिने कुरा या अहिलेका प्रधानमन्त्रीसँग जवाफदेहिता खोज्ने कुरा स्वाभाविक होला ।’ उनले भनिन्, ‘होईन भने एउटा पार्टीको उपाध्यक्षले अध्यक्षलाई यो आरोप लगाइराख्दा, त्यो पनि नीतिगत प्रश्न गरिराख्दा उहाँले कति प्रतिशत जिम्मेवारी लिनुहुन्छ ? यस्ता गलत तथ्यलाई ल्याएर प्रचार गरेकै कारणले, पार्टीको पक्षमा, पार्टीको संस्थागत निर्णयको पक्षमा उहाँका विचारहरु नआएकै कारणले उहाँलाई कारबाहीमा पर्नुभएको हो । त्यो उहाँको प्रवृत्ति हो र यो प्रवृत्तिले उहाँलाई राजनीति गर्ने हो भने र राजनीतिक दलसँगको आवद्धतामा रहने हो या उहाँले आफैं पनि विचार चाहीँ निष्पक्ष हुनुपर्छ र कार्यशैलीमा प्रष्टता आउनुपर्छ ।’
नेतृ बरालले केपी ओलीका क्रियाकलापको कारण राष्ट्रियता कमजोर भएको र भीम रावलले जगाउनका लागि पहल गरेको कुनैपनि तथ्य नरहेको दाबी गरिन् । समग्र नेपालीहरुले नै राष्ट्रियताको पक्षमा सम्झौता नगर्ने नेता ओलीलाई लिने गरेको उनको दाबी छ । एमालेले व्यक्तिहरुको बर्वराहटप्रति जवाफ दिन आवश्यक नै नरहेको उनको भनाइ छ । File Photo/RN