काठमाडौं, १८ पुस । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासङ’ सक्रिय राजनीतिमा फर्किएका छन् । आज (बुधबार) उनी नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकमा सहभागी हुन पेरिसडाँडा पुगेका छन् ।
पुनलाई पार्टी उपाध्यक्ष बनाएर सकृय राजनीतिमा ल्याउने माओवादी केन्द्रको तयारी छ । पुन यसअघि माओवादी पदाधिकारी बैठकहरुमा सहभागी भएर सकृय राजनीतिमा आउन वार्मअप गरिरहेका थिए ।
माओवादीको स्थायी कमिटी बैठक तीन दिनसम्म चल्ने छ । यसपटकको स्थायी कमिटी बैठकमा पुन सहभागी हुनुले उनी सकृय राजनीतिमा फर्किएको धेरैको अनुमान छ ।
पार्टी केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्न माओवादीले स्थायी कमिटी बैठक राखेको हो । पूर्वप्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुनलाई साइजमा राख्न पासङलाई अगाडि सारेको समेत चर्चा हुन थालेको छ ।
पूर्वउपराष्ट्रपति पासङसँगै पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी सकृय राजनीतिमा फर्किन वार्मअप गरिरहेकी छिन् । पाुसङ राजनीतिमा फर्किएर भण्डारीलाई एमालेको राजनीतिमा फर्किन सहजता प्रदान गरेका छन् ।