काठमाडौं, पुस १८ । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी मुख्यालय च्यासलमा बैठक सुरु भएको हो ।
आजको बैठकमा केन्द्रीय कमिटी बैठकका एजेण्डा र राष्ट्रिय राजनीतिबारे छलफल हुने जनाइएको छ । एमालेले आगामी पुस २१ र २२ गते बस्ने गरी केन्द्रीय कमिटी बैठक बोलाएको छ ।
यसअघि बुधबार एमालेले संगठित सदस्यबाट हटाएपछि पूर्व उपाध्यक्ष भीम रावलले पत्रकार सम्मेलन गरेर एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध प्रश्नको वर्षा गरेका थिए ।
मातृभूमि जागरण अभियान सञ्चालन गर्ने घोषणा गरेका नेता रावलले आफ्नो प्रेस वक्तव्यमार्फत दर्जनौ आलोचना र प्रश्न प्रधानमन्त्रीसमेत रहेका ओलीविरुद्ध उठाएका छन् ।
पार्टीका महाधिवेशनदेखि सरकार सञ्चालनसम्ममा ओलीले गरेका क्रियाकलापको असन्तुष्टि जाहेर गर्दै उनले प्रश्न गरेका हुन् । आजको एमाले सचिवालय बैठकमा यस विषयमा पनि गम्भिर रुपमा छलफल हुने जनाइएको छ । फोटोः मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल