काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको आगामी केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्ने भएका छन् ।
बिहीबार बसेको एमाले सचिवालय बैठकले ओलीले पेश गर्ने राजनीतिक प्रतिवेदन पारित गरेको छ । एमालेले पुस २१ र २२ गतेका लागि केन्द्रीय कमिटीको बैठक डाकेको छ ।
ओलीले पेश गर्ने राजनीतिक प्रतिवेदनमा नेपाली कांग्रेस र एमाले मिलेर बनेको नयाँ सरकार र त्यसपछि भए गरेका काम कारबाही र आगामी योजनाबारे समावेश भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
यसबाहेक सरकार गठनयताको ६ महिनाको समीक्षा प्रतिवेदनमा गरिएको छ भने सरकारले आगामी दिनमा गर्नुपर्ने कामका विषय समेत औँल्याइएको छ । यस्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिका बिच पार्टीलाई कसरी अघि बढाउने भन्नेबारेमा पनि प्रतिवेदनमा उल्लेख गरिएको ज्ञवालीले बताए ।