काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सत्तारुढ दल नेकपा एमालेले गरेका तीन जना नेतामाथिको कारबाहीप्रति आपत्ति जनाएको छ । आज बसेको स्थायी समितिको बैठकमा बोलेकै आधारमा एमालेले नेताहरुलाई कारबाही गरेको निष्कर्ष निकालेको प्रवक्तासमेत रहेका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले बताए ।
स्थायी समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सापकोटाले एमालेले तानाशाही प्रवृत्ति देखाउँदै डा भीम रावलको संगठित सदस्यता खोसेको र नेतृद्धय बिन्दा पाण्डे र उषाकिरण तिम्लिसिनालाई निलम्बन गरेको आरोप लगाए ।
‘लोकतन्त्र करिबकरिब समाप्त भयो । एमालेमा छलफल बहस हुन्छ भनेर मानिसले बुझेका थिए । व्यापारीबाट दान दिएर पार्टी कार्यालय बनाउने विषयमा बोलेबापत भीम रावललाई पार्टीबाट निष्कासन नै गरिसक्यो । बिन्दा पाण्डे र उषाकिरण तिम्सेनालाई निलम्बन गरियो’, उनले भने, ‘वास्तवमा मुख थुनेर शासन गरिँदैछ । यो हदसम्मको निरंकुशता र यो हदसम्मको तानाशाहीकरण हर्कतले यो सरकार त जान्छ जान्छ । तर देश भयानक संकटको भुमरीमा पर्दैछ ।’
गत साता बसेको एमाले सचिवाल बैठकले रावलको संगठित सदस्यता खोस्ने निर्णय गरेको थियो । भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङबाट पार्टी कार्यालय बनाउन जग्गा दानमा लिएको विषयमा असहमति राखेका तीन जना नेतामाथि कारबाहीको डन्डा चलाएको थियो । उक्त निर्णयको हालसम्म पनि विरोध हुँदै आइरहेको छ ।