Logo

‘कामरेड जलजला’ उपन्यासमाथि संवाद र समीक्षा



चितवन । कम्युनिष्ट नेता मोहनविक्रम सिंहद्वारा लिखित उपन्यास ‘कामरेड जलजला’माथि संवाद र समीक्षा गरिएको छ। अखिल नेपाल बुद्धिजीवि संघ चितवनले आयोजना गरेको कार्यक्रममा साहित्यकारले यस उपन्यासलाई निडर भएर अघि बढ्नका लागि प्रेरणाको स्रोत भनेर चित्रण गरेका छन्।

मानवीय र मार्क्सवादी चिन्तन बोकेको नेपाली साहित्यको उपलब्धिका रुपमा यस उपन्यासलाई लिइएको सो अवसरमा बोल्ने वक्ताहरुले बताएका थिए।

कार्यक्रममा लेखक सिंहले कम्युनिष्टहरुले समाजका लागि आफूलाई कसरी समर्पण गर्छन् भन्ने मार्गदर्शनका लागि यो उपन्यास सार्थक भएको बताए। कम्युनिष्टले विश्वमा नै शोषणविहीन समाजवादको बाटोमा हिँड्नुपर्ने उनले बताए। आफूले २३ वर्ष लगाएर लेखेको यस उपन्यासले वास्तविकता बोकेको बताउँदै उनले कम्युनिष्टसँगै ऐतिहासिक रुपमा रहेका हरेक वस्तुलाई सार्थक रुपमा दिनसक्ने बताए।

कार्यक्रममा साहित्यकार एलवी क्षेत्री, रमाकान्त सापकोटा, अशोक शर्मा, ईश्वरी भट्टराई, उदय अधिकारी, सरिता तिवारीलगायतले टिप्पणी गरेका थिए।

कामरेड जलजला उपन्यास दुई खण्डमा रहेको छ। आठ भाग ७२ परिच्छेद र दुई सय ७२ अङ्कहरूमा विभाजित यस उपन्यास एक हजार तीन सय २० पृष्ठको रहेको छ। जसमा पाँच सय पात्रहरु रहेका छन्। यस उपन्यास नेपालका विभिन्न स्थानको इतिहास संस्कृति र मानव जीवनको पनि अध्ययन गर्ने प्रयत्न गरेको सो अवसरमा बताइएको थियो।



प्रतिक्रिया दिनुहोस्