सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारको प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. जीवन रानालाई नियुक्त गरिएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले आयोगको सदस्यमा डा. हिरा चन्द र शेरबहादुर भण्डारीलाई नियुक्त गरिएको छ ।
धनगढी उपमहानगरपालिका–८ निवासी नवनियुक्त उपाध्यक्ष रानाले राना थारु समुदायको सांस्कृतिक जीवन विषयमा विद्यावारिधि गरेकी छन् । प्रदेश सरकारले आयोगको उपाध्यक्षमा पहिलोपटक महिला नियुक्त गरेको हो ।
उपाध्यक्षमा नियुक्त राना नेपालको कैलाली र कञ्चनपुर जिल्लामा मात्र बसोबास रहेको रानाथारु समुदायबाट विद्यावारिधि गर्ने पहिलो व्यक्ति हुन् । आयोगको सदस्यमा नियुक्त डा. चन्द कञ्चनपुरको भीमदत्त नगरपालिका–१० र भण्डारी डडेल्धुरा जिल्ला गन्यापधुरा गाउँपालिका निवासी हुन् ।
नवनियुक्त उपाध्यक्षलाई आज साँझ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा आयोजित समारोहमा मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ गराए ।
मुख्यमन्त्री शाहले आयोगका नवनियुक्त उपाध्यक्ष र सदस्यबाट विकास र समृद्धिको मार्गमा प्रदेशलाई डोर्याउन आवश्यक नीति निर्माण र तिनको कार्यान्वयनमा महत्त्वपूर्ण योगदान हुने विश्वास व्यक्त गरे ।